साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार नै मौद्रिक नीति सर्वाजनिक गरेसँगै नेप्से उच्च अंकले वृद्धि भएको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको छ।
उक्त घोषणा भएसँगै नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.५१ अंक बढेको छ।
आइतबार कारोबारमा आएका दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन तीन अर्बबराबरको सेयर खरिद–बिक्री भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक ४.९८ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।
आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आइतबारको कारोबार शिवम् सिमेन्ट कम्पनीको १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।