मणिपुर हिंसा र मोदीको छल

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

मोदी सत्तामा रहिरहनु भनेको मनुष्यत्वका लागि जे आवश्यक पर्ने हो, ती सबैको हत्या गर्न दिनु हो

प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक आफूले अभ्यास गर्दै आएको निच राजनीतिको प्रदर्शन गरेका छन् । मणिपुरमा भइरहेको बहुसंख्यकवादी हिंसामा मोदीले आफ्नो मौनता तोडेका छन् भन्नु सर्वथा गलत हुन जान्छ । उनले वास्तवमा फोहोरी प्रतिक्रिया मात्र जनाएका छन्, जहाँ उनले राजनीतिक वक्रोक्ति (डग ह्विसल) का माध्यमबाट विपक्षी दललाई निसाना बनाएका छन् र यी दल शासित राज्यमा यौनहिंसाविरुद्ध कुनै कारबाही गरिएको छैन भन्दै आफ्ना अनुचरलाई उक्साएका छन् । उनले आफ्ना समर्थकलाई मणिपुरमा हिंसा भएकै छैन भन्ने पारिदिएका छन् वा हिंसा भए पनि त्यसमा कुनै ग्लानि वा पश्चात्ताप महसुस गर्नुहुन्न भन्ने पारिदिएका छन् । बरु उनले समर्थकलाई विपक्षीमाथि धाबा बोल्न उक्साएका छन् । 

मोदीको प्रतिक्रियापछि भारतीय जनता पार्टी (भाजपा) का नेता र उनका समाजिक सञ्जालका सेनामेनाले कांग्रेसका नेतामाथि आक्रमण गर्न थालेका छन् । यी नेता र सेनामेनाले कांग्रेस शासित राज्यमा महिलामाथि हुने हिंसामा कांग्रेस नेता किन नबोलेको भन्दै आक्रमण गरिरहेका छन् । यो आक्रमण त्यतिवेला भइरहेको छ, जब भाजपा शासित राज्य मणिपुरमा विश्वलाई नै स्तब्ध पार्ने गरी कुकी समुदायका दुईजना महिलामाथि यौनहिंसा भएको भिडियो सतहमा आएको छ । 

अहिले मणिपुरमा कुकी समुदायले व्यहोरिरहेको तीन महिनादेखिको बहुसंख्यकवादी हिंसालाई लुकाउने प्रयास गरिँदै छ र यसलाई महिला हिंसामा मात्रै सीमित गर्न खोजिँदै छ । महिलाविरुद्ध हुने हिंसा भारतमा मात्रै होइन, विश्वकै सबै हिस्सामा देख्न सकिन्छ । तर, मणिपुर मामिला महिला हिंसामा मात्रै सीमित छैन । मणिपुरमा भिडको एक जत्थाले दुई कुकी महिलालाई निर्वस्त्र पार्दै र लुछ्दै सडकमा सरेआम हिँडाइएको तीन महिना पुरानो घटना भिडियोका रूपमा बाहिरिएको छ । पहिलो प्रहरी उजुरी (एफआइआर) मा सो घटनामा तीनजना पीडित महिला रहेको जनाइएको छ । यो भिडियोले मानिसलाई विचलित बनाएको थियो । यसले स्वभावतः स्तब्धता र क्रुद्धताको सार्वजनिक प्रतिक्रिया पनि निम्त्यायो । तर, के हाम्रा प्रधानमन्त्री त्यसरी नै विचलित, स्तब्ध एवं क्रुद्ध भए ? वा मणिपुरका मुख्यमन्त्रीले यस्तै प्रतिक्रिया जनाए ? वा कर्णाटक चुनावका वेला तीन रात मणिपुरमा काटेका केन्द्रीय गृहमन्त्रीले यस्तै प्रतिक्रिया जनाए ? के हामी सर्वसाधारणले झैँ यी नेताले यो घटनाबारे भिडियोबाट मात्रै जानकारी पाएका हुन् वा कुकी समुदायमाथि भइरहेको हिंसाबारे बेखबर थिए ? यदि यसो हो भने हामीले केन्द्र र राज्य सरकारको औचित्यबारे प्रश्न गर्नुपर्छ । मणिपुरमा भएको महिलाविरुद्धको हिंसामा प्रहरी र राष्ट्रिय महिला आयोगमा गरिएको उजुरीबारे यी नेतालाई राम्रैसँग जानकारी थियो । यसले हिंस्रक मेती समुदायको समर्थनमा बनेका मणिपुरका मुख्यमन्त्रीले सक्रियतासाथ बहुसंख्यकवादी हिंसालाई प्रोत्साहन गरेका थिए र अहिले पनि त्यसलाई जारी नै राखेका छन् भन्ने प्रस्ट हुन्छ । 

भिडियो सतहमा आएपछिको भाषणमा मुस्कुराउँदै प्रधानमन्त्री मोदी साउन महिनाको बखान गरिरहेका थिए र युवालाई डिजिटल भारतसँग जोड्ने विषयमा बोलिरहेका थिए । भाषणको अन्त्यमा उनले मणिपुर हिंसाबारे छुस्स बोलेका थिए । यसले मुलुकलाई नै गम्भीर रूपमा असर पारिरहेको र मुलुकको बदनामी गरिरहेको मुद्दामा मोदीको उपेक्षाभाव जनाउँथ्यो । मोदीको भाषणले अहंकार र आत्मविश्वासको भावनालाई झल्काइरहेको थियो किनभने उनी आफुले मतदाताका भावनालाई सफलतापूर्वक परिवर्तन गरेर आफ्ना कपटी र निच कामलाई अँगाल्ने बनाएको छु भन्नेमा विश्वास गर्छन् । मणिपुरमा हिंसाका चपेटामा परेका महिला कुकी थिए र आक्रमणकर्ता मेती समुदायका थिए । यी महिलाले व्यहोरेको यौनहिंसा राज्यको परोक्ष समर्थनमा बहुसंख्यक मेती समुदायले अल्पसंख्यक कुकी समुदायमाथि गरेको बहुसंख्यकवादी हिंसाको एक हिस्सा मात्रै थियो । मेती महिलाको बलात्कार र हत्याको झुटो समाचारले मेती समुदायका मानिसलाई कुकी महिलामाथि आक्रमण गरेर बदला लिन उक्साएको दाबी गलत हो । कुकी महिलामाथि भएको यौनहिंसाको औचित्य पुष्टि गर्न मिथ्या समाचार प्रकाशित गरिएको भन्ने नै देखिन्छ । तसर्थ, मिथ्या समाचार र कुकी महिलामाथि आक्रमण गर्ने सम्भवतः एकै किसमका मानिस थिए । अर्थात् ती हिंसात्मक मेती समूह, जसले कुकीविरुद्धको हिंसामा आममेती मानिसलाई हिंसामा भागीदारी जनाउन उक्साएका थिए ।

इन्डियन एक्सप्रेसका अनुसार कुकी महिलाविरुद्ध गरिएको हिंसामा भिडको भागिदारी मात्रै थिएन, त्यसमा प्रहरी पनि जिम्मेवार थियो । मणिपुर राज्यको प्रहरीले नै ती कुकी महिलालाई भिडको हातमा सुम्पेका थिए । केहीका अनुसार यी महिलालाई प्रहरीबाट जबर्जस्ती घसिटिएको पनि थिएन । यस अवस्थामा आफू सम्मिलित हिंसा र आफूले गर्दै आएको हिंसाको राजनीति गर्ने प्रधानमन्त्री मोदीले हिंसाविरुद्ध बोलून् भन्ने अपेक्षा गलत एवं मूर्खतापूर्ण हुन्छ । मणिपुर राज्यका मुख्यमन्त्री वीरेन सिंह अहिले गुजरातमा दुई दशकअघि मुसलमान नरसंहार हुँदाका मुख्यमन्त्री नरेन्द्र मोदीको जस्तै स्थानमा उभिएका छन् । मोदीले जिम्मेवारीबाट भाग्नेमा निपुणता हासिल गरेका छन् र त्यसभन्दा पनि बढी उनले न्यायको माग गर्नेलाई हिंसात्मक जत्था खडा गरेर आक्रमण गर्नमा पारंगतता हासिल गरेका छन् । मोदी सत्तामा रहिरहनु भनेको मनुष्यत्वका लागि जे आवश्यक पर्ने हो, ती सबैको हत्या गर्न दिनु हो ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) 
द वायरबाट

सुझावित समाचार