चक्रवर्ती कलेजमा विद्यार्थी भर्नामा हरेक वर्ष विवाद
काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती हबी एजुकेसन एकेडेमी (कलेज अफ ल)लाई पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिँदा बिएएलएलबीमा तोकेको कोटा जम्मा सयजना हो । तर, कलेजले विश्वविद्यालयले तोकेभन्दा तेब्बर विद्यार्थी भर्ना गरेपछि कलेजमा तनाव उत्पन्न भएको छ ।
हाल कलेजले तीन सय विद्यार्थी भर्ना लिएर पढाउँदै आएको छ । कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल्न आठ महिनाअघि भएको प्रवेश परीक्षामा विश्वविद्यालयले तोकेभन्दा धेरै विद्यार्थी भर्ना गरेको थियो । तोकेभन्दा धेरै विद्यार्थी भर्ना गरेर रजिस्ट्रेसन फाराम पठाएपछि विश्वविद्यालयले त्यसलाई अस्वीकार गरेको छ । विश्वविद्यालयले आफूले दिएको कोटाअनुसारका विद्यार्थीको फाराम मात्रै लिन्छ । कोटाभन्दा धेरै विद्यार्थीको भर्ना तथा परीक्षा फाराम आएपछि विश्वविद्यालयले रजिस्टे«सन फाराम नलिने अडान लिँदै आइरहेको छ ।
विश्वविद्यालयले सयजनाभित्र रहेको विद्यार्थीको विवरण माग गरेको छ । ‘हामीले तोकेभन्दा बढी विद्यार्थी भर्ना गर्न पाइँदैन, त्यसको भागीदार कलेज प्रशासन नै हुन्छ,’ पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेलले भने, ‘सम्बन्धन लिँदा एक सयजनाको लिने, तर भर्ना गर्दा तीन सयभन्दा बढी विद्यार्थी सहभागी गराउने कलेज प्रशासनको प्रवृत्ति छ, यसलाई हामी मान्दैनौँ ।’ उनले ऐन कानुन पढाउने कलेजले नै ऐन कानुनको हुर्मत गरेकाले अब कारबाही हुने चेतावनीसमेत दिए ।
कलेजले कोटाभन्दा बढी विद्यार्थी भर्ना गरेपछि आधाभन्दा धेरै विद्यार्थीको भविष्य अन्योल बनेको छ । आठ महिनाअघि कलेज प्रशासनले बिएएलएलबीमा सहजै भर्ना लिएको थियो । ‘हामीलाई भर्ना हुँदा कलेजले कोटाबारे जानकारी नै गराएन, पैसा उठाउन खुरुखुरु भर्ना लियो, तर अहिले कोटाभन्दा बाहिरका विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गर्न खोजिँदै छ,’ बिएएलएलबीमा अध्ययनरत एक छात्राले भनिन्, ‘यसो गर्दा हाम्रो भविष्य अन्योलमा छ, यसको जिम्मा कलेज प्रशासन नै हुनुपर्छ ।’ उनले झन्डै दुई सय विद्यार्थीको भविष्य अन्योल बनेको बताइन् । कलेजले विद्यार्थीलाई अनावश्यक कोटा देखाएर भर्ना लिएको भन्दै विश्वविद्यालयले कारबाहीको तयारी गरेको छ ।
विश्वविद्यालयले बिएएलएलबीमा विद्यार्थी भर्ना गर्न आह्वान गर्दै ०७९ भदौमै कोटाभन्दा बढी विद्यार्थी भर्ना नगर्न सम्बद्ध कलेजहरूलाई निर्देशन जारी गरेको थियो । तर, विद्यार्थीहरूबाट चर्को शुल्क असुल्न कलेजले कोटाभन्दा तेब्बर विद्यार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको थियो । हाल पूर्वाञ्चल विश्वविद्यालयले उपत्यकाभित्र चक्रवर्ती, काठमाडौं स्कुल अफ ल र ख्वपः कलेजलाई कानुन संकाय पढाउन कोटासहित सम्बन्धन दिएको छ । तर, यी कलेजमा पनि कोटा कम भएपछि विद्यार्थी भर्ना नपाउने समस्या खेप्दै आएका छन् ।
बिएएलएलबी पढाउन ल क्याम्पसले लिन्छ साढे तीन लाख तर, निजीले असुल्छन् १७ लाख
चक्रवर्ती र पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूले विद्यार्थीसँग महँगो शुल्क असुली गर्दै आइरहेका छन् । चक्रवर्तीले हाल पाँचवर्षे बिएएलएलबी कोर्सका निम्ति १० लाख ७० हजार रुपैयाँ लिने गरेको छ । ०७८ मा सात लाख ७० हजार रुपैयाँ लिने गरेकोमा ०७९ मा बढाएर १० लाख ७० हजार रुपैयाँ पुर्याएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा कानुन संकाय निकै महँगो छ । पूर्वाञ्चलअन्तर्गतकै काठमाडौं स्कुल अफ लले यही कोर्सको नौ लाख ५५ हजार पाँच सय रुपैयाँ लिने गरेको छ । भक्तपुरमा रहेको ख्वपः कलेजले भने पाँच लाख रुपैयाँ शुल्क लिने गरेको छ । तर, नेपाल ल क्याम्सपले यही पाँचवर्षे कोर्सका लागि तीन लाख ५० हजार रुपैयाँ शुल्क लिँदै आएको छ । निजी कलेजले सरकारीको तुलनामा पाँच गुणा बढी शुल्क लिएपछि विद्यार्थी मारमा पर्ने गरेका छन् । यसबाहेक निजी क्याम्पसहरूले बिएएलएलबी तहमा कक्षा १२ को नतिजा नै सार्वजनिक नहुँदै विद्यार्थी भर्नासमेत गर्ने गरेका छन् । कानुन विषय पढाइ हुने क्याम्पसहरूको मनपरी बढे पनि बार काउन्सिलले भने त्यसतर्फ चासो दिएको छैन । मेडिकल शिक्षामा चिकित्सा शिक्षा आयोगले शुल्क तोकेझैँ कानुन संकायमा पनि काउन्सिलको शिक्षा समितिले शुल्क तोक्नुपर्ने जानकारहरूको भनाइ छ ।
एलएलएमको कोटा नै बिक्री, कलेजलाई कारबाही गर्ने चेतावनी
चक्रवर्ती कलेज हरेक वर्ष विवादमा मुछिँदै आएको छ । विद्यार्थीको कोटा किनबेच, चर्को शुल्क असुली र कोटाभन्दा धेरै विद्यार्थी भर्ना गरेपछि हरेक वर्ष विवाद हुँदै आइरहेको हो । कलेजले जानाजान बढी विद्यार्थी भर्ना गर्ने, तोकेभन्दा बढी शुल्क लिने र कोटा नै किनबेच गर्ने गरेपछि विद्यार्थीको भविष्यसमेत अन्योल बन्ने गरेको छ । गत वर्ष कलेजले एलएलएममा अध्ययरत सुष्मा पण्डितको कोटा अर्कैलाई बिक्री गरेको थियो । अदालतको आदेशले मात्रै उनले परीक्षा दिन पाएकी थिइन् ।
गत वर्ष पनि कलेजले कोटाभन्दा बढी विद्यार्थी भर्ना गरेको थियो । विश्वविद्यालयले फाराम लिन अस्वीकार गरेपछि विद्यार्थीहरू उच्च अदालत पुगेका थिए । अदालतले परीक्षा दिन पाउने आदेश दिएपछि विश्वविद्यालय नियमपूर्वक भर्ना नगरिएका विद्यार्थीको फाराम बुझ्न बाध्य भएको थियो । ‘कलेजले आफूखुसी विद्यार्थी भर्ना गर्ने र हामीले कोटाभन्दा बढीको फाराम रिसिभ नगरेपछि अदालत धाउने प्रवृत्ति छ,’ विश्वविद्यालयका कानुन संकायका डिन प्रा.डा. अनिल पोखरेलले भने, ‘यस्तो विषयमा विद्यार्थीकै पक्षमा हामीले काम गर्नुको विकल्प छैन ।’
कोटाभन्दा बढी विद्यार्थी भर्ना गरेपछि छानबिन समिति गठन
कलेजले विद्यार्थीलाई सीधै ठगी गर्ने र चर्को शुल्क असुल्ने गरी कोटाभन्दा बढी विद्यार्थी भर्ना गरेपछि विश्वविद्यालयले छानबिनका लागि कमिटी गठन गरेको छ । गत बिहीबार विश्वविद्यालय कानुन संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । विश्वविद्यालयका योजना महाशाखा प्रमुख डा. कोमलप्रसाद दुलाल र निर्देशक महेशप्रसाद निरौला सदस्य रहेको समितिले एक साताभित्र प्रतिवेदन तयार पारी बुझाउनेछ । त्यसपछि कारबाही प्रक्रिया अघि बढाइने रजिस्ट्रार पोखरेलले जानकारी दिए ।
चक्रवर्ती कलेजका प्रिन्सिपल देवेन्द्र भण्डारीले ०७३ मै विश्वविद्यालयसँग कोटा थप गर्न अनुमति मागेको दाबी गरे । ‘हामीले ०७३ मै विद्यार्थीको संख्या धेरै हुन थालेपछि कोटा थप गर्न अनुमति माग गरेका थियौँ, अहिले तीन सय विद्यार्थी बिएएलएलबीमा छन्, तर उनीहरूमध्ये दुई सयको फाराम विश्वविद्यालयले लिन मानेन,’ उनले भने, ‘पढ्न चाहने विद्यार्थीलाई हामीले रोक्न भएन नि ।’ उनले विश्वविद्यालयले कोटा बढाउने सम्बन्धमा चासो नदिँदा यस्तो समस्या आइपरेको जिकिर गरे ।
(काठमाडौं स्कुल अफ ल कलेजले पाँचवर्षे बिएएलएलबी कोर्सका लागि नौ लाख ५५ हजार पाँच सय मात्रै शुल्क लिने गरेको छ । यसअघि गलत तथ्यांक पर्न गएकोमा क्षमायाचना गर्दै भूलसुधार गरिएको छ । —सम्पादक)