चीन–अमेरिकाबीच ‘आर्थिक युद्ध’

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

अमेरिकाका अधिकांश मित्र देशले चीनतिर आँखा लगाउनुले वैश्विक अर्थतन्त्रमा चीनको उपस्थिति बलियो छ भन्ने संकेत गर्छ 

अमेरिकी राजनीतिक अर्थशास्त्री लेस्टर थोरोले आफ्नो किताब ‘द फ्युचर अफ क्यापिटलिजम’मा लेखेका छन्, ‘विश्व व्यापार व्यवस्थाका नीतिनियम फाइदा सदैव वर्चस्वशील अर्थतन्त्रले तय गर्दै लागू गराएको छ ।’ १९औँ शताब्दीमा ग्रेट ब्रिटेनले यो भूमिका निभायो भने २०औँ शताब्दीमा पुग्दा संयुक्त राज्य अमेरिकाले यो भूमिका निभायो । तर, २१औँ शताब्दीमा आर्थिक प्रतिबन्धका नीतिनियमको रूपरेखा बनाउन, संगठित गर्न र त्यसलाई लागू गराउने कुनै एउटै मात्र शक्ति हुनेछैन । थोरोले यो पनि भनेका थिए कि अमेरिकाको प्रभावमा चलिरहेको एकध्रुवीय व्यवस्था अन्त्य हुँदै छ । एकध्रुवीय संसार अहिले विश्व रंगमञ्चमा आइसकेको छ । 

फेरिँदो समीकरण : थोरोको भनाइ कति सत्य हो, त्यो छुट्टै विषय हो । उनको भनाइमा सबैको मतैक्य नहुन पनि सक्छ । तर, आजभोलि जुन परिवर्तन देखिइरहेको छ, त्यसले अमेरिका अब विश्वको ‘दादा’ रहेन भन्नेतिर संकेत गर्छ । वास्तवमा अमेरिकाका अधिकांश मित्र देश चीनतिर आँखा लगाउँदै छन् । यसले के स्पष्ट पार्छ भने चीन वैश्विक अर्थतन्त्रमा बलियो उपस्थिति जनाउन धेरै हदसम्म सफल छ । यो सफलता प्राप्तिमा चीनको यात्रा केही रोचक पनि छ । 

अमेरिकी अर्थतन्त्रमा सन् २००८ को आर्थिक संकट ‘टर्निङ प्वाइन्ट’ साबित भयो । उक्त संकटपछि थाहा भयो, अमेरिका अब त्यस्तो शक्तिकेन्द्र रहेन, जसको वरिपरि  बाँकी विश्व घुमोस् ।

चीनको यो परिवर्तनको सुरुवात खासमा सन् २००८ बाट सुरु भएको देखिन्छ । त्यतिवेला अमेरिकास्थित लेहमन ब्रदर्स टाट पल्टियो । जसले गर्दा अमेरिका गम्भीर आर्थिक संकटबाट गुज्रिनुपर्यो । सूक्ष्म रूपमा हेर्दा त्यसको असर अहिले पनि कतै न कतै देखिन्छ । तर, यो असर अमेरिकामा मात्रै सीमित रहेन । त्यसपछिका वर्षमा पूरै युरोप आर्थिक संकटको चपेटामा आयो । यसले के देखायो भने विश्व बैंकका अर्थशास्त्रीले वैश्विक अर्थतन्त्र ‘डी–कपल’ भइसकेको घोषणा गरेका थिए । अर्थात्, कुनै एक अर्थतन्त्रलाई झड्का लाग्दा त्यसको असर अन्य देशमा पर्दैन भने । तर, त्यो पूर्ण रूपमा सही निस्किएन । २००८ को आर्थिक संकटले गर्दा विश्वका कैयौँ अर्थतन्त्र प्रभावित भए । अझै पनि प्रभावित हुने क्रम रोकिएको छैन । 

त्यसो त अमेरिकी अर्थतन्त्रका लागि यो एउटा ‘टर्निङ प्वाइन्ट’ साबित भयो । उक्त संकटपछि थाहा भयो, अमेरिका अब त्यस्तो शक्तिकेन्द्र रहेन, जसको वरिपरि  बाँकी विश्व घुमोस् । यद्यपि, चीनको अर्थतन्त्रमा पनि यस्तै बबल छन् । यी बबल फुट्दा चिनियाँ अर्थतन्त्र डगमगाउन सक्छ । तर, अहिलेलाई हेर्दा अमेरिकाको तुलनामा चीनले कूटनीतिक नाफा हासिल गरेको छ । ताजा वैश्विक परिदृश्यलाई नजिकबाट नियाल्दा केही विशेषता स्पष्ट देखिन्छन् । 

जस्तो कि अब वैश्विक शक्तिको केन्द्र अमेरिका मात्रै रहेन । यद्यपि, विश्व दुई ध्रुवमा भने अझै विभाजित भइसकेको छैन । भारत, रुस, बेलायत, फ्रान्स, जापान, अस्ट्रेलियालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न सकिँदैन । यी देशले जी–२०, क्वाड, एसिओ, ब्रिक्स, आसियानजस्ता संगठनको प्रतिनिधित्व गरिरहेका छन् । प्रतिनिधित्व मात्रै होइन, वैश्विक अर्थतन्त्रको गतिशिलतासँगै दशा र दिशा पनि सुनिश्चित गर्छन् । 

अमेरिका, चीन र रुसबीच बन्दै–बिग्रँदै गरेको समीकरणले विश्वलाई अपेक्षाकृत रूपमा केही बढी प्रभावित गरेको छ । आज अमेरिकाका मित्र देश लगभग छैनन् भन्दा पनि हुन्छ । स्वयं अमेरिकाको दृष्टि चीनतिर तेर्सिएझैँ लाग्छ । यसको प्रमाणका रूपमा एन्टनी ब्लिंकनको यात्रालाई लिन सकिन्छ । त्यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको बेइजिङ यात्रा भयो । युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन देरले पनि सी जिनपिङसँग भेट गरिन् । यसैगरी, इरान र साउदी अरब निकट आउँदा यसमा पनि बेइजिङको भूमिका निर्णायक रह्यो । मध्यपूर्वमा चीनको उपस्थितिपछि अमेरिकाका लागि कुनै स्पेस बाँकी होला त ? जहाँसम्म इस्लामिक देशको विषय छ, उनीहरू शीतयुद्धको वेलादेखि नै या त अमेरिकी कित्तामा उभिए या उनीहरूको झुकाव अमेरिकातिर रह्यो । अहिले यिनीहरूको पूर्ण झुकाव चीनतिर देखिन्छ । जबकि, चीनले हुई र उइगर समुदायविरुद्ध अभियान चलाएको छ । केही समयअघि अर्गनाइजेसन अफ इस्लामी कोअपरेसन (ओआइसी)को बैठकमा चीनलाई आमन्त्रण मात्रै गरिएन, उसप्रति समर्थनसमेत व्यक्त गरियो । तर किन ? भन्ने प्रश्न उठेको छ । 

पहिलो कारण त इस्लामिक देशलाई पनि चीनलाई झैँ लोकतन्त्रबाट डर लाग्छ । उनीहरू आफ्नो देशमा लोकतन्त्रको हावा नचलोस् भन्ने चाहन्छन् । दोस्रो, चिनियाँ कर्जाको माखेसाङ्लो पनि प्रभावित पार्ने एउटा कारक तत्व हो । ओआइसी बैठकमा चिनियाँ विदेशमन्त्रीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत मुस्लिम देशमा चार सय अर्ब डलर लगानी गर्ने बताएका थिए । यसैगरी, तेस्रो कारण हो, ऊर्जा । चीन ऊर्जाका लागि सबभन्दा ठूलो बजार हो । यो स्थितिमा तेल उत्पादक देश चीनबाट टाढिन मुस्किल देखिन्छ । 

प्रेम र घृणाको खेल  ः अमेरिका–चीनबीचको प्रेम र घृणाको खेलको अर्थ छ । अमेरिका–चीन सम्बन्ध लामो समयदेखि तनावग्रस्त छ । पहिले मुद्रा युद्ध (करेन्सी वार) र अहिले व्यापार युद्ध (ट्रेड वार) का रूपमा चलेको छ । पटक–पटक अमेरिकी उच्च अधिकारी बेइजिङ हान्निएका छन् । अमेरिकाका तर्फबाट सम्बन्ध सुधारको प्रयास भएको सुनिन्छ । यसले यी दुई शक्तिशाली देशबीच कस्तो परिणाम ल्याउँछ, त्यो भने हेर्न बाँकी छ ।
 

सुझावित समाचार