बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाले परीक्षण सुरु गरेको छ।
अपी पावर कम्पनीले निर्माण गरेको यो आयोजनाको शुक्रबारदेखि परीक्षण सुरु गरिएको हो। दार्चुलाको मार्मा गाउँपालिका–१ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका–२ घट्टीगाडमा रहेको विद्युत् गृहमा पानी खसालेर परीक्षण सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए।
आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटै टर्वाइन, जेनेरेटर र अन्य उपकरणहरूको परीक्षण सफल भएको उनले बताए। निर्माण सम्पन्न भएपछि आयोजनाको प्राविधिक टोलीले बिहीबारदेखि पूर्ण तयारीका साथ उपकरण र भौतिक संरचनाहरूको परीक्षण सुरु गरेको थियो। शुक्रबार विद्युत् गृहमा पानी खसालेर मेसिनहरूको परीक्षण सुरु गरिएको आयोजनाको निर्माणतर्फका प्रमुख इन्जिनियर मनीषसिंह ठगुन्नाले बताए।
शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए। करिब आठ अर्ब लागतमा निर्माण भएको अपर चमेलियाले ३० महिनामै निर्माण सम्पन्न गरेको हो। अबको करिब २ सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले बताए।