पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अब अनलाइनबाट सबै कर भुक्तान गर्न मिल्ने व्यवस्था गरेको छ । कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले बिहीबार अनलाइनबाट आफ्नो सम्पत्ति तथा भूमिकर तिरेर अनलाइनबाटै कर तिर्न मिल्ने व्यवस्था गरेका हुन् ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष एवं पत्रकार रामकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले पनि बुधबार सोही कार्यक्रममा अनलाइनबाट आफ्ना सम्पत्ति र भूमिकर भुक्तान गरेका थिए । नगरप्रमुखले अनलाइनबाटै कर भुक्तान प्रणालीको उद्घाटन गर्दै अब कावासोती नगरपालिका डिजिटल युगमा प्रवेश गरेको बताए ।
अहिले www.eservice.kawasotimun.gov.np लग इन गरेर इसेवामार्फत घरबाटै सम्पति र भूमिकर तिर्न सकिन्छ भने अन्य करहरू नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा गएर क्युआर कोडमार्फत कर तिर्न मिल्ने व्यवस्था मिलाइएको छ।
घरबाट तिरिएको करको बिल करदाताको मेल ठेगानामा तुरुन्त आउने व्यवस्थासमेत गरिएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत रूपेश गिरीका अनुसार सेवाग्राहीले आफ्नो करदाता पोर्टलमा लगइन गरी आफ्नो सम्पत्ति विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्नेछन्। वडा कार्यालयमा क्युआर कोडमार्फत रकम भुक्तान गर्नका लागि वडा सचिवहरूलाई शुक्रबारदेखि तालिम प्रदान गर्ने जनाएका छन् ।