चीनलाई आप्रवासीको आवश्यकता छ

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

चीन चरम जनसांख्यिक संकटतर्फ गइरहेको छ । शताब्दीयौँदेखि चीनमा विश्वकै सबैभन्दा धेरै जनसंख्या थियो तर अहिले संकुचित हुँदै गइरहेको छ । सन् २०२२ मा चीनमा जन्मभन्दा मृत्युका घटना बढी दर्ज भएका छन् र चीनलाई भारतले चाँडै उछिन्नेछ । कैयौँ जनसंख्याशास्त्री भारतले उछिनिसकेको विश्वास गर्छन् । चिनियाँ जनसांख्यकीबारे करिब ४० वर्षयता अध्ययन गरेको अध्येताका नाताले जनसंख्या घट्नु भनेको सक्रिय जनसंख्या घटेर आश्रित जनसंख्या बढ्नु हो, जसले अर्थतन्त्रमा गिरावट ल्याउने सम्भावना बढाउँछ । र, यो अवस्थामा जोडीलाई बढी सन्तान जन्माउन प्रोत्साहन गर्ने चिनियाँ नीति पनि प्रभावकारी नदेखिएकाले चीनले अन्य उपाय खोज्नुपर्नेछ । सोझो भाषामा भन्ने हो भने चीनलाई आप्रवासीको आवश्यकता छ ।

चिनियाँ सरकारले सन् २०२२ मा कुल मृत्युसंख्या एक करोड चार लाख १० हजार रहेको र जन्मिनेको संख्या ९५ लाख ६० हजार रहेको जनाएको छ । सन् १९५८ देखि १९६२ को समय अर्थात् ‘महान् अग्रगामी छलाङ’का समयमा गलत अर्थनीतिका कारण सिर्जना भएको भोकमरीयता पहिलोपटक चीनमा जन्मदरभन्दा मृत्युदर बढी देखिएको छ । अहिलेकै दर जारी रहने हो भने चीनले आफ्नो एक अर्ब ४० करोड जनसंख्याको एकतिहाइभन्दा बढी जनसंख्या गुमाउनेछ ।

केही आकलनअनुसार सन् २१०० मा चीनको जनसंख्या ८० करोडमा पुग्ने अनुमान गरिएको छ । यसको प्रभाव चिनियाँ समाजमा निश्चय नै पर्नेछ । मुलुक अहिले नै वृद्ध हुन थालिसकेको छ । चीनको अहिलेको मध्यिका उमेर ३८ छ, जुन एक दशकअगाडि २८ थियो । बरु अहिले भारतमा मध्यिका उमेर २८ रहेको छ । ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्याले चिनियाँ जनसंख्याको १४ प्रतिशत हिस्सा ओगट्छ, जबकि भारतमा यो आँकडा सात प्रतिशत छ ।

जनसंख्याको यो घट्दो प्रवृत्तिलाई दुई ढंगले बढाउन सकिन्छ । पहिलो जनतालाई धेरैभन्दा धेरै बच्चा जन्माउन प्रोत्साहन गरेर र दोस्रो बाह्य मुलुकबाट जनता ओसारेर । थुप्रै चिनियाँ नेता मुलुकको प्रजनन नीति बदलेर जनसंख्या बढाउन सकिन्छ भन्नेमा विश्वास गर्छ । यसैअनुरूप चीनले सन् २०१५ मा एक सन्तान नीति त्याग्यो र हुँदाहुँदा सन् २०२१ मा चीनले तीन सन्तानको नीति अँगाल्यो । यी परिवर्तनले राष्ट्रिय प्रजनन दर बढ्ने अनुमान गरिएको थियो तर बढेन । अर्थात् बच्चा जन्माउन योग्य महिलाले औसतमा १.२ सन्तान मात्रै जन्माएको देखियो, जबकि जनसंख्यालाई स्थिर पार्न २.१ सन्तानको आवश्यकता पथ्र्यो । यसका पछाडि ९० को दशकपछि चीनको घटेको प्रजनन दर हो र यसमा चीनको प्रजनन दर घटाउने नीतिभन्दा पनि जोडीको इच्छा र आधुनिकताले काम गरेको थियो । चिनियाँ जोडी बढ्दो जीविका एवं शैक्षिक खर्चका कारण धेरै बच्चा जन्माउन चाहन्नन् । 

यदि अहिलेको घट्दो जनसांख्यिक प्रवृत्तिलाई पूर्ववत् रूपमा फर्काउने हो भने चीनले आफ्नो आप्रवासन नीतिमा परिवर्तन ल्याउनैपर्छ

मेरो विचारमा चीनको कुल प्रजनन दर आउने दशकमा बढीमा ०.१ वा ०.२ ले बढ्नेछ । कैयौँ जनसंख्याशास्त्रीको पनि यस्तै मत छ, अर्थात् स्थिर जनसंख्याका लागि आवश्यक १.० वा २.० को दरले बढोत्तरी सम्भव देखिँदैन । त्यसमाथि जनसंख्याशास्त्रीले भन्ने गरेको ‘न्यून प्रजनन पासो’ आइपुग्छ । यो पासोमा यदि कुनै मुलुकको प्रजनन दर १.५ वा १.४ भन्दा मुनि झर्छ भने उल्लेख्य रूपमा प्रजनन बढ्ने सम्भावना कम हुने गर्छ । यो तर्कअनुसार प्रजनन क्षमता जीवनस्तरमा परिवर्तन र महिलामाझ बढ्दो अवसरका कारण घट्ने गर्छ ।

यस सन्दर्भमा तीन सन्तान नीतिले प्रजनन दरमा बढोत्तरी ल्याउने सम्भावना निकै कम छ ।  बाँकी रह्यो आप्रवासन । चीनमा अहिले विदेशमा जन्मेका करिब १० लाख मानिस (अर्थात् कुल जनसंख्याको ०.१ प्रतिशतभन्दा कम) मात्रै बसोवास गर्छन् । वास्तवमा विश्वका ठूला मुलुकलाई हेर्ने हो भने चीनमा सबैभन्दा कम अन्तर्राष्ट्रिय आप्रवासी बसोवास गर्छन् । चीनमा रहेका कम आप्रवासी मात्रै समस्या होइन । चीनबाट जनसंख्याको एक बढ्दो हिस्सा अमेरिकालगायत विभिन्न मुलुकमा बसाइँ सरिरहेका छन् । सन् २०१७ मा चीनबाट करिब एक करोड मानिस बाहिरिएका थिए ।     

यदि जनसांख्यिक प्रवृत्तिलाई पूर्ववत् फर्काउने हो भने चीनले आफ्नो आप्रवासन नीतिमा परिवर्तन ल्याउनैपर्छ । हाल विदेशमा गैरचिनियाँ नागरिकबाट जन्मेका मानिसले चीनको नागरिकता पाउँदैनन् । त्यसैगरी विदेशीले चीनमा सम्पत्तिका नाममा घरबाहेक अन्य खरिद गर्न पाउँदैनन् । चिनियाँ नेतृत्वमा नश्लीय शुद्धताले जरो गाडेको छ । चीनमा थुप्रै मानिस यो शुद्धतालाई जोगाउन आप्रवासनमा रोक लगाउने वा यसलाई सीमित पार्ने राय राख्छन् । यो अवस्थामा यदि आप्रवासन नीति बदल्ने हो भने सोच पनि बदल्नुपर्छ । र, आप्रवासनको नीतिमा छुट दिने हो भने यसले जनसंख्या मात्रै नबढाई उत्पादनलाई पनि बढाउनेछ ।

आप्रवासी प्रायः सक्रिय उमेरका हुन्छन् र धेरै उत्पादनशील हुन्छन् । यसका अतिरिक्त आप्रवासीमा मूल निवासीभन्दा बढी सन्तान जन्माउने सम्भावना हुन्छ । अमेरिका र थुप्रै युरोपेली मुलुक दशकौँदेखि सक्रिय जनसंख्या बढाउन आप्रवासीमा भर परेका छन् । चीनमा आप्रवासनले देखिने प्रभाव ल्याउन आउने दशकमा पाँच करोड वा बढी आप्रवासीलाई भित्र्याउने प्रयास गर्नुपर्छ । अन्यथा, हरेक वर्ष जनसंख्या घट्दै जानेछ जन्मिनेभन्दा मृत्यु हुनेको संख्या बढी रहनेछ र अन्ततः चीन संसारकै वृद्धहरूको मुलुक बन्नेछ । 
(पोस्टोन टेक्सास एग्रिकल्चरल एन्ड मेकानिकल युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट 

सुझावित समाचार