नेपाली राष्ट्रिय भलिबल टोलीका निवर्तमान कप्तान हरिहजुर थापाले स्वास्थ्यको समस्या देखाउँदै राष्ट्रिय टोलीबाट बाहिर रहने निर्णय लिएका छन् । ६ असोजबाट सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाल भलिबल संघले १२ खेलाडी छनोट गरेको थियो । नाम सार्वजनिक भएसँगै हरिहजुरले सामाजिक सञ्जालबाट टोलीमा सहभागी नहुने बताएका छन् । ‘म स्वयं छनोटमा भए पनि स्वास्थ्यस्थितिले गर्दा अभ्यासमा सरिक हुन नपाउने जानकारी गराउँछु,’ थापाले लेखेका छन् ।
संघले थापासँगै १२ खेलाडीको नाम सार्वजनिक गरेको छ । तर, उनले स्वास्थ्य समस्या देखाउँदै नाम फिर्ता लिएका हुन् । यसअघि संघले नेतृत्व अभावको कारण देखिएकाले ३० असारमा हरिहजुरलाई कप्तानबाट बर्खास्त गरेको थियो । सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष लिगमा त्रिभुवन आर्मीबाट खेलेका हरिसँगै केही खेलाडी अनुशासनको कारबाहीमा परेका थिए । गण्डकीविरुद्धको खेलमा दर्शक कुटेको र अभद्र व्यवहार गरेको एनभिएले ठहर गरेको छ । राष्ट्रिय टोलीका कप्तान हरिले खेलाडी सम्हाल्न नसकेको आरोप लगाउँदै संघले पदबाट बर्खास्त गरेको छ ।
विशालको पुनरागमन
हरिको बर्खास्तीसँगै संघले आर्मीकै मानबहादुर श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । १९औँ एसियाड खेल्ने टोलीमा नेपाल पुलिस क्लबका स्पाइकर विशाल विकले पुनरागमन गरेका छन् । गत महिना किर्गिस्तानमा काभा च्यालेन्ज कप खेल्दा विशाल टोलीबाहिर थिए । यसैगरी, सफल विक, मनीष मानन्धर र सम्राट भण्डारीले टोलीमा पहिलोपटक स्थान बनाएका छन् । ह्यान एविङको प्रशिक्षणमा रविन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, हेमन्त मल्ल र विनोद चन्द छन् । यसैगरी, सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।