काठमाडौं महानगरको छात्रवृत्तिका लागि १०८३ ले दिए अनलाइन आवेदन

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले मागेअनुसार कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ जनाको अनलाइन आवेदन परेको छ। 

महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि २८ असार बिहान १० बजेबाट ४ साउन अपराह्न साढे तीन बजेसम्म आवेदन दिन सूचना जारी गरेको थियो।

८ दिनको अवधिमा एक हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको महानगरले जनाएको छ। सबैभन्दा धेरै आवेदक विज्ञानको छात्रवृत्तिका लागि परेको छ। 

विज्ञान विषय पढ्न चाहने पाँच सय ४९ छात्र र दुई सय २७ छात्राले अनलाइन आवेदन दिएका छन्। दोस्रोमा व्यवस्थापन विषय पढ्न चाहने छन्। व्यवस्थापन विषय पढ्न चाहने एक सय ४८ छात्र र ९१ छात्राले निवेदन दिएका छन्। 

प्राविधिक विषयका लागि २४ छात्र र १७ छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ छात्रा र ७ छात्र गरी २३ जना, मानविकीमा एक छात्र र एक छात्रा तथा शिक्षामा पनि एक–एक छात्रछात्राको आवेदन परेको छ।

सुझावित समाचार