एकीकृत समाजवादीको बैठक लम्बेतान, खनाल एक्लैले गरे सात घन्टा बहस

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

सत्तारूढ एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । २९ असारमा सुरु भएको बैठक ३१ असारमा सक्ने तयारी थियो । तर, नेताहरूले घन्टौँ बहस गरेपछि बैठक लम्बिएको हो । 

अब बिहीबार बिहान बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् । उनका अनुसार ‘वर्तमान परिस्थिति र हाम्रा कार्यभार’ विषयमा नेपालले बिहीबार जवाफ दिनेछन् । त्यसपछि अन्य एजेन्डामा प्रवेश गर्ने र बैठक समापन हुने उनले बताइन् ।

सोमबार करिब दुई घन्टा धारणा राखेका खनालले मंगलबारको बैठकमा पूरै समय लिए । पार्टीको विगत २२ महिनाको समीक्षादेखि पुँजीवाद र समाजवादको व्याख्या, त्रिशंखु संसद्मा पार्टीले खेल्नुपर्ने भूमिका, देशमा बढिरहेको संकट, प्रधान अन्तरविरोध र प्रमुख प्रतिद्वन्द्वी शक्तिको निक्र्योल, समाजवादी क्रान्ति र संयुक्त मोर्चा, अविलम्ब महाधिवेशन गर्नुपर्ने आवश्यकता र त्यसको तयारीका लागि गर्नुपर्ने वैचारिक, संगठनात्मक कामबारे खनालले सम्बोधन गरेका थिए । 

खनालले बुँदागत रूपमा विषयवस्तुको व्याख्या गरेको एक पदाधिकारीले जानकारी दिए । ती सदस्यका अनुसार खनालले मंगलबार करिव पाँच घन्टा सम्बोधन गरेका थिए । वैचारिक, राजनीतिक र सांगठनिक रूपमा स्पष्ट भएर पार्टीलाई अगाडि बढाउनुपर्ने र वामपन्थी शक्तिहरूबीच मोर्चाबन्दी गर्नुपर्नेमा खनालको जोड । समाजवादी क्रान्ति र त्यसको कार्यदिशा तय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता खनालले औँल्याएका छन् । माक्र्सवाद र लोकतन्त्रका चार ऐतिहासिक रूपबारे पनि खनालले लामै व्याख्या गरेका थिए । 

वर्तमान परिस्थिति र हाम्रा कार्यभार विषयमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र सचिवालय सदस्य रामचन्द्र झाले धारणा राखिसकेका छन् । बैठकमा नेताहरूले पार्टी महाधिवेशन, वैचारिक, राजनीतिक अभियान, वर्गीय संघर्षदेखि सरकारको कामकारबाहीसम्मका विषयमा धारणा राखेका छन् ।
 

सुझावित समाचार