जर्मन प्रिमियम कार ब्रान्ड बिएमडब्लूको उत्पादन ‘आइएक्स–३’ नेपाली बजारमा आएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि नेपालका लागि बिएमडब्लूको आधीकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आइएक्स ३ नेपालमा ल्याएको हो ।
बिएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आइएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल रहेको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सको दाबी छ । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आइएक्स–३ सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।
यो गाडीमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर रहेको जनाइएको छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको तथा अधिकतम पावर २८५ पिएस र टर्क ४०० न्युटन मिटर रहेको उल्लेख छ । यसको ब्याट्रीले सिंगल चार्जमा चार स य ६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लुएलटिपीको परीक्षणले प्रमाणित गरेको जनाइएको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।
पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुला आकाशको दृश्यावलोकन गर्न सकिने तथा साउन्ड सिस्टमका लागि १२ वटा स्पिकरले कारलाई थप लक्जरी बनाएको कम्पनीले जनाएको छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको तथा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल, एम्बियन्ट लाइटका कारण क्याबिनले निकै प्रिमियम फिल गराउने कम्पनीको दाबी छ ।