ललितपुर महानगरले सडकको धुलो पखाल्न दुईवटा ‘रोड वासर कम स्प्रिंकल’ गाडी प्रयोगमा ल्याएको छ । अब महाननगरले पानीको फोहराले सडकको धुलो पखाल्ने भएको छ ।
यस्तै, सडक–किनारमा रोपिएका बिरुवा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएका बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।
ललितपुर महानगरले एक करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिंकल’ खरिद गरेको हो । यी दुई गाडीले दमकलको कामसमेत गर्छन् । बिरुवामा पानी राख्न, सडक भिजाउन, सफा गर्न, अग्ला रूखहरूमा टाँसिएको धुलो सफा गर्नसमेत यो उपयोगी छ ।
यसले चार लेनसम्मको सडक सफा गर्न सक्छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिंकलले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए ।