तपाईंहरूले आज फेरि किन फोहोर विसर्जन रोक्नुभएको हो ?
हामीले फोहोर विसर्जन रोकेका होइनौँ । प्रभावित क्षेत्रका स्थानीयवासीले रोक्नुभएको हो । उहाँहरूले आन्दोलन गर्नुभएको हो । जसका कारण आज फोहोर बन्चरेडाँडासम्म जान सकेन । हामीलाई प्रशासनिक रूपमा छलफल गरेर अगाडि बढिदिनुप¥यो भनेर स्थानीयवासीले आग्रह गरेपछि हामी त्यहाँ गएका हौँ ।
अब कुन माग सम्बोधन हुन बाँकी छ ? आन्दोलन केका लागि हो ?
स्थानीयको एउटै माग हो, त्यहाँको जग्गा अधिग्रहण गर्नुपर्यो । बस्ती अन्तै स्थानान्तरण गर्नुपर्यो । प्रभावित क्षेत्रको बस्तीमा झिँगा र दुर्गन्धका कारण दैनिक जीवन नै नराम्ररी प्रभावित भएको छ । खाना खाने वेला एउटा हातले गाँस र अर्को हातले झिँगा धपाउनुपर्ने अवस्था छ । हामीले फोहोर बोकेर आउने ट्रकबाट शुल्क लिएर कतै केही रोपनी जग्गा व्यवस्था गरेर स्थानीयलाई सार्न सकिन्छ कि भनेर तयारी गरेका थियौँ । तर, त्यस योजनामा पनि सर्वोच्च अदालतले निर्बाध रूपमा फोहोरमैला ओसारपसार गर्न दिनू, शुल्क नलिनू भन्ने ‘स्टे अर्डर’ जारी गरेका कारण हामीले त्यो व्यवस्था लागु गर्न सकेनौँ ।
फोहोरजस्तो संवेदनशील वस्तुको विसर्जन नै रोक्ने यो आन्दोलन कहिले टुंगिएला ?
स्थानीयवासीको आन्दोलन जारी छ । अहिलेसम्म वार्ता र छलफलका लागि कहीँबाट पनि कुनै पहल भएको छैन । फोहोर विसर्जन अवरुद्ध नै छ । आगामी दिनमा सम्बन्धित निकायले के भन्छ, स्थानीयवासीसँग कस्तो सहमति हुन्छ, त्यहीअनुसार अगाडि बढ्छौँ ।