ढोरपाटनका मेयरसहित इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण
ढोरपाटनका मेयरसहित इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा

मेयर देवकुमार नेपाली

सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग

बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारीपीडितले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दर्ता गरेका हुन् ।

मेयर नेपालीसहित उनकी श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाहीविरुद्ध मुद्दा दर्ता गरिएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए । कुल एक अर्ब ३० करोड बिगोदाबीसहित १५ सय ४३ जनाको हस्ताक्षरसहित अदालतमा सहकारी मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले बताए । सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग गरिएको छ ।

बचतकर्ताको रकम हिनामिना पारेर बेपत्ता भएका सहकारीका संस्थापक अध्यक्षसमेत रहेका मेयर नेपालीलाई खोजी गरी बचत रकम फिर्ताको माग गर्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनी झन्डै दुई महिनादेखि बेपत्ता छन् । उनलाई पक्राउको माग गर्दै बचतकर्ताले सडक आन्दोलनसमेत गरेका छन् । 

एक अर्ब ३० करोड रुपैयाँ बिगोदाबी गरेर मुद्दा दर्ता गरिए पनि अहिले झन्डै दुई अर्ब रकम हिनामिना भएको पीडितहरूको भनाइ छ । ‘अहिलेसम्म सहकारीको एक अर्ब ५१ करोड हिनामिना भएको देखिएको छ,’ संघर्ष समितिका संयोजक कार्कीले भने, ‘केही पीडित मुद्दा दर्ता गर्नै आएका छैनन् । केहीले आयस्रोत देखाउन नसक्ने भएर दर्ता गर्न चाहेका छैनन् । हालसम्म १५ सय ४३ जनाले मुद्दा दर्ता गरेका छौँ । दैनिक यो संख्या बढ्दै गएको छ ।’ उनले मेयर नेपाली सम्पर्कमा नआएको पीडितहरू ठगी मुद्दा लिएर अदालत पुगेको बताए । 

सञ्चालकसमेत रहेका नेपाली बेपत्ता भएपछि बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । उनीहरूले जिल्लाका राजनीतिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ताका लागि सहजीकरण गरिदिन आग्रहसमेत गरेका छन् । पीडितहरूले नेपालीलगायत अन्य सञ्चालकलाई इन्टरपोलमार्फत पक्राउ गर्न माग गरेका छन् । बागलुङ सदरमुकामसहित गलकोट, बुर्तिबाङ र पोखरामा पनि शाखा रहेको इमेज सहकारीमा आकर्षक ब्याज दिने आश्वासनका कारण सयौँले बचत गरेका थिए । सेयर सदस्य नभएकाहरू धेरैसँग सहकारीले कारोबार गरेको थियो । गत ७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । 
 

See More On

सुझावित समाचार