प्रहरी सहायक निरीक्षक (असइ) अर्जुन सेठ्ठी चर्चित प्रहरी कर्मचारी होइनन्, तर उनले गरेका कामले भने ठूलै चर्चा कमाएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत उनी काठमाडौंका चर्चित हत्याकाण्डदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई पक्राउ गर्नसमेत खटिएका थिए ।
तिनै सेठ्ठीलाई विभिन्न १२ वटा ठूला अपराधको अनुसन्धानमा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्रहरी प्रधान कार्यालयले पुरस्कार स्वरूप शुक्रबार प्रहरी नायब निरीक्षक (सइ)मा बढुवा गरेको छ ।
कपनकी निरु पाण्डेको हत्यामा संलग्न अभियुक्तको पहिचान खुलाउन उनकै प्रमुख भूमिका थियो । प्रहरी प्रधान कार्यालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउदेखि काठमाडौंका विभिन्न हत्याकाण्डमा अभियुक्त प्रकाउमा सेठ्ठीको विशेष भूमिका थियो ।
अदालतबाट दोषी ठहर भएका २१ जना अपराधीलाई पक्राउ गर्न पनि उनी खटिएका थिए । प्रहरी प्रधान कार्यालयले उनका तिनै कामको मूल्यांकन गरी पुरस्कार स्वरूप बढुवा गरेको हो ।
प्रहरी सहायक हवल्दार भूदरमणि जोशी पनि एक गुमनाम प्रहरी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले गरेका काम भने निकै महत्वपूर्ण छन् । उनले विमानस्थलमा करोडौँ मूल्यबराबरका तस्करीका सुन बरामद गराएका छन् ।
पछिल्लोपटक गत १५ जेठमा एक भारतीयलाई एक किलो सुनसहित पक्राउ गरेका थिए । विगतमा सात करोडबराबरको नक्कली भारतीय रुपैयाँ बरामद गरी पाकिस्तानी नागरिकलाई पक्राउमा पनि उनको भूमिका थियो ।
उनले २९ फागुन ०७८ मा दुई चिनियाँलाई करिब पाँच किलो सुनसहित पक्राउ गरेका थिए । विमानस्थलका ठूला १७ वटा अप्रेसनमा उनी संलग्न थिए । सोही कामको आधारमा उनी हवल्दारबाट शुक्रबार सहायक निरीक्षक (असइ)मा बढुवा भएका छन् ।
सेठ्ठी र जोशीजस्तै आर्थिक वर्ष ०७९-८० मा उत्कृष्ट काम गर्ने १० प्रहरीको बढुवा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
‘उत्कृष्ट काम गर्ने कर्मचारीलाई विशेष बढुवा गर्ने प्रावधान प्रहरी नियमावली छ,’ उनले भने, ‘सोहीअनुसार उत्कृष्ट काम गर्नेहरूमध्येबाट छानेर १० जनाको बढुवा गरिएको हो । राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्ने संगठनको नीतिअनुसार यो बढुवा भएको हो ।’
प्रहरी नियमावली ०७१ को दफा ३९ मा विशेष बढुवासम्बन्धी प्रावधान छ । जसमा एक आर्थिक वर्षमा अधिकतम १० कर्मचारीलाई राजपत्र अनंकितपदसम्म एक तह बढुवा गर्न सकिने प्रावधान छ । सोहीअनुसार शुक्रबारको प्रहरीको नीति निर्माण समितिको बैठकले बढुवाको निर्णय गरेको हो ।
नियमित बढुवा सामान्यतया ज्येष्ठताका आधारमा हुनेमा यस्तो विशेष बढुवामा भन्दा ज्येष्ठता नभई उनीहरूको कामलाई मात्र आधार बनाइन्छ । देशभरिबाट एक सयभन्दा धेरै प्रहरीको विशेष बढुवाका लागि सिफारिस भएकोमा एआइजी नेतृत्वको एक समितिले १० जना छनोट गरेको हो । विशेष जिम्मेवारी निभाएकै आधारमा विशेष बढुवा भएको प्रहरी प्रवक्ताको भनाइ छ ।
विशेष बढुवा हुने अन्य प्रहरीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायब निरीक्षक तिलराम बोहरा सार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल शाखामा कार्यरत असइ बामदेव घिमिरे, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत हवल्दार सविर अली अन्सारी पनि छन् । उनीहरू पनि एक तह बढुवा भएका छन् ।
यस्तो बढुवा पाउनेमा पाँचजना सहायक हवल्दार छन् । सोलुखुम्बुमा कार्यरत सुवास नेपाली, सिआइबीमा कार्यरत लक्ष्मण सापकोटा, विमानस्थलमा कार्यरत भूदरमणि जोशी, गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत गनकुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयमा कार्यरत उपेन्द्र चौधरी छन् । त्यस्तै, मानव बेचबिखन ब्युरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारी पनि विशेष बढुवामार्फत हवल्दार भएका छन् ।
वरिष्ठ प्रहरी निरीक्षक भएका तिलराम प्रशिक्षण प्रतिष्ठानमा विगत २८ वर्षदेखि प्रशिक्षकका रूपमा कार्यरत छन् । उनी धेरै प्रहरी अधिकारीका ‘गुरुबा’ हुन् । प्रशिक्षण कार्यमा महत्वपूर्ण भूमिका निभाएको आधारमा उनी वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका हुन् ।
विशेष ब्युरोमा कार्यरत रहँदै आएका वरिष्ठ हवल्दार सविरअली अन्सारीले पनि ठूला अपराधको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित अपराधको अनुसन्धानमा उनी खटिँदै आएका छन् । उनी असईमा बढुवा भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत हवल्दार लक्ष्मण सापकोटा उत्कृष्ट काम गरेको आधारमा वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । ब्युरोमा उनले अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधीको पक्राउमा योगदान दिएका थिए ।
गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत गनकुमार खण्डलुकले खोंच तथा भीरमा फसेका तथा मृत्यु भएका व्यक्तिहरूको उद्धारमा खटिँदै आएका छन् । सातवटा घटनामा उद्धार गरेको आधारमा उनी हवल्दारमा बढुवा भएका हुन् ।
इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुमा कार्यरत सहायक हवल्दार सुवास नेपाली विशेष बढुवाबाट हवल्दारमा बढुवा भएका छन् । उच्च हिमाली क्षेत्रमा मृत्यु भएका र हराएकाहरूको उद्धारमा सक्रियताका साथ काम गरेको र विभिन्न अपराधको अनुसन्धानमा खेलेको भूमिकाका आधारमा उनी विशेष बढुवामा परेका हुन् ।
अख्तियारमा कार्यरत असईड घिमिरे घुससहित पक्राउ गर्ने स्टिङ अप्रेसनमा निभाएको भूमिकाका आधारमा पुरस्कृत भई सईमा बढुवा भएका हुन् ।
प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका उपेन्द्र चौधरी हवल्दारमा बढुवा भएका छन् । त्रुटीरहित ढंगले प्रहरी कर्मचारीको विवरण राख्ने कामका आधारमा उनी बढुवा भएका हुन् ।
मानव बेचबिखन ब्युरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारी सहायक हवल्दारमा बढुवा भएका छन् । भारतको कोठीमा लगेर नेपाली महिला बिक्री गर्ने तथा ओमानमा मानवस्तरी गर्ने प्रतिवादीलाई उनले पक्राउ गरेका थिए । मिर्गौला तस्करीमा संलग्न दुईजनालाई पनि उनले पक्राउ गरेका थिए । मानव बेचबिखन मुद्दाका ९ प्रतिवादीलाई पक्राउ गरेको गरेको मेहनतका आधारमा उनी पुरस्कृत भएका हुन् । यस्तो बढुवाले अन्य प्रहरीलाई पनि उत्कृष्ट काम गर्न प्रोत्साहन मिल्ने प्रहरी प्रवक्ता कडायत बताउँछन् ।