बागलुङको दक्षिण क्षेत्रलाई जोड्ने बागलुङ–कुस्मिसेरा सडकअन्तर्गत बरेङ–गुल्मीको शान्तिपुर खण्डको पहिरो नियन्त्रणका लागि साढे पाँच करोड बजेट चाहिने भएको छ । सडकअन्तर्गत बागलुङ नगरपालिका– १० भकुन्डे दब्लाङ एक्लेसालमा हरेक वर्ष बर्खामा पहिरोले सडक अवरुद्ध हुन थालेपछि भौगर्भिक अध्ययन गरिएको छ ।
पूर्वाधार विकास कार्यालय बागलुङमार्फत भएको भौगर्भिक अध्ययन प्रतिवेदनले अल्पकालीन र दीर्घकालीन समाधानका दुई उपाय दिएको छ । पहिरोको दिर्घकालिन उपायका लागि अध्ययन अवलोकन गरेको विज्ञको टोलीले पाँच करोड ४८ लाखको लागत निकालेको छ । पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले तत्काल पहिरो रोक्न अल्पकालीन उपाय अबलम्बन गरिने बताए ।
तत्कालीन समाधान : सडकमाथिबाट आएको पानी तर्काएर नजिकैको खोल्सामा पुर्याएमा ५० प्रतिशत पहिरो झर्ने समस्या कम हुने पहिरोसम्बन्धी अध्ययन गरेको संस्था ‘एक्सप्लोरल जियोलोजिक कन्सल्टेन्सी’का टिम लिडर डा. प्रकाशदास उलकले बताए ।
उनका अनुसार तत्कालका लागि पहिरोको माथिल्लो भागमा प्लास्टिक विछ्याएर पानीनजिकैको न्वारेखोलामा पु¥याएमा केही हदसम्म पहिरो बग्नबाट रोकिनेछ । टोलीमा सहभागी भूगर्भविद् उमेशचन्द भुसालका अनुसार सात सय मिटर लामो र एक सय ३५ मिटर फराकिलो पहिरो १५ देखि १८ मिटर गहिरो भएर बगेको छ । पहिरोकै कारण जम्मा भएको पुरुवामाटोमा सडक बन्नुका साथै वर्षायामको पानीको उचित व्यवस्थापन हुन नसकेका कारण पहिरो गइरहेको हो ।
दीर्घकालीन समाधान : पहिरोको झन्डै १३ देखि २० मिटर तल मात्र चट्टान रहेकाले दिर्घकालीन समाधानका लागि १० उपाय सुझाइएको छ । पहिरोको झन्डै १३ देखि २० मिटर तल चट्टान भेटिएको भुसालले बताए । पहिरो नियन्त्रणका लागि पाइल फाउन्डेसनसहित पिलर हाल्ने, तारजाली लगाउने, मेसिनरीवाल लगाउने, पानी व्यवस्थापन गर्ने, पानी बग्ने पक्की संरचना बनाउने र इकोप्लानिङ गर्ने विज्ञ टोलीले सुझाव पेस गरेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख सुवेदीले बताए । अध्ययन टोलीले दुई सय एमएम डायमिटरका ४७ वटा पायल पिलर राख्न सुझाव दिएको छ ।
पहिरोले बर्खामा हरेक वर्ष समस्या
बागलुङ–कुस्मिसेरा सडकको धरैजसो क्षेत्रमा कालोपत्रे छ । तर, बरेङबाट शान्तिपुर शान्तिपुर जोड्ने खण्डमा पर्ने बागलुङ नगरपालिका– १० भकुन्डे दब्लाङ एक्लेसालमा हरेक वर्ष पहिरो जान्छ । पहिरोले सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण बलेवा क्षेत्र, भकुन्डे, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका स्थानीयलाई सदरमुकाम पुग्न समस्या हुन्छ । पहिरोले बागलुङ–कुश्मिसेरा सडक खण्ड दुई स्थानमा र कालीगण्डकी करिडोर र कालीगण्डकी नदी–किनार हुँदै गएको भाटेखोला जाने बैकल्पिक सडक पनि एकैसाथ अवरोध गर्दै आएको छ । एउटा पहिरोले चार स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ जाने यातायातका साधन ठप्प हुने गरेका छन ।
कृषि सडकका रूपमा ०५६ सालमा बागलुङ बजारदेखि दक्षिणमा कुस्मिसेरा, बरेङ हुँदै छिमेकी जिल्ला गुल्मीको शान्तिपुर सडक निर्माण भएको हो । यसको बैकल्पिक मार्गको रूपमा कालीगण्डकी करिडोरको विकास भइरहेको हो । विगतमा सडक विभागको जिम्मा रहेको योे सडक अहिले गण्डकी प्रदेश सरकार मातहतमा रहेको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौगर्भिक अध्ययन प्रतिवेदनले औँल्याए अनुसार नै पहिरो नियन्त्रणको काम हुने बताए । ‘अध्ययन अनुसन्धानको प्रतिवेदनको आधारमा के गर्न सकिन्छ । त्यो हेरेर आवश्यक पहल थालिने छ, गण्डकी प्रदेश सरकारले यसको दीर्घकालीन समाधानका लागि काम गर्नेछ,’ उनले भने, ‘स्थानीय सरकारसँग पनि समन्वय गरिनेछ ।’