डोल्पाका घरघरमा प्रहरीको सम्पर्क नम्बरसहितको स्टिकर

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

डोल्पाका घरघरमा प्रहरीका सम्पर्क नम्बरअंकित स्टिकर टाँस गर्ने अभियानको सुरुवात गरिएको छ।

सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत सबै प्रकारको सूचनामा प्रहरीको सहज पहुँच बनाउन र नागरिकलाई नजिकबाट सुरक्षाको प्रत्याभूति गराउन आइतबार जिल्लाका दुईवटा स्थानीय तहमा घरघरमा स्टिकर टाँस अभियानको सुरुवात गरिएको हो।

सोही कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिकामा पनि प्रहरी स्टिकर टाँस अभियानको सुरुवात गरिएको छ। नगर प्रमुख जनचन्द्र रोकायले स्थानीय तुलबहादुर विष्टको घरमा प्रहरी सम्पर्क नम्बरअंकित स्टिकर टाँस गरी कार्यक्रमको सुरुवात गरेका हुन्।

एक–दुई दिनभित्रै नगरपालिकाका सबै प्रहरी युनिट परिचालन गरेर ११ वटै वडाका सम्पूर्ण घरमा स्टिकर टाँसिने प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।

कर्णाली प्रदेश सरकारको विशेष अभियान भए पनि नगरपालिकाको आर्थिक सहयोगमा २४ सय स्टिकर छपाइएको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए।

प्रहरी चौकी त्रिपुराकोट नगर प्रमुख, उपप्रमुखलगायतका सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रमको भएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीनप्रसाद चापागाईंले देशमै पहिलोपटक कर्णाली प्रदेशमा यो अभियान लागू भएको बताए।

अभियानका विषयमा प्रस्ट पार्दै चापागाईंले यो अभियानले नागरिककालाई वास्तवमै सुरक्षाको प्रत्याभूति दिलाउने र प्रहरीलाई समेत जतिसक्दो चाँडो घटनास्थलमा पुग्न सहज हुने बताए। यसैगरी जिल्लाको ठुलीभेरी नगरपालिकामा पनि यो अभियान सुरु गरिएको छ। 

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, उपप्रमुख तेजेन्द्र बुढा, नगर प्रमुख सुवर्ण बुढा, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेललगायतको उपस्थितिमा अभियाजको शुभारम्भ गरिएको प्रहरी नायव उपरीक्षक शिवप्रसाद बुढाथोकीले जानकारी दिए।

यस अभियानअन्तर्गत ठुलीभेरीमा दुई हजार तीन सय स्टिकर छापिएकाले एक–दुई दिनभित्र नगरपालिकाका सम्पूर्ण वडामा पर्ने घरधुरीमा स्टिकर टाँसिने बुढाथोकीले बताए।

आज दुईवटा नगरपालिकामा मात्र अभियानको शुभारम्भ भए पनि छिट्टै बाँकी ६ वटा स्थानीय तहमा अभियान लागू गरिने उनको भनाइ छ। स्टिकरमा जिल्ला प्रहरी कार्यालयको फोन नम्बर, प्रहरी युनिटहरूको फोन नम्बर, एम्बुलेन्सको नम्बर आदि राखिएको छ।

त्यति मात्र नभई विभिन्न प्रकृतिका अपराध रोकथाममा समेत यो अभियानले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। यस अभियानका विषयमा पहिला सुझाव संकलनपश्चात् मात्र लागू भएको प्रहरीले जनाएको छ।

नागरिकलाई सहज रूपमा सेवा दिन ३१ वैशाखदेखि कार्यालयको मूल गेटमा नागरिक सहजकर्ता प्रहरीको समेत व्यवस्था गरिएको बताइएको छ।

See More On

सुझावित समाचार