आर्थिक संकट झेलिरहेको पाकिस्तानको झन्डामा ४० करोड खर्च

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट कडा सर्तसहित ऋण स्वीकृत भएपछि आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सबैभन्दा अग्लो झन्डा लहराउने होड सुरु गरेको छ । पाकिस्तानको पन्जाब राज्य सरकारले ७६औँ स्वतन्त्रता दिवस (१४ अगस्ट)मा पाँच सय फिट अग्लो झन्डा फहराउने निर्णय लिएको छ । यसमा ४० करोड पाकिस्तानी रुपैयाँ खर्च हुने बताइएको छ । 

पन्जाब राज्यलाई विदेशी ऋण तिर्न आगामी दुई वर्षमा कम्तीमा २० अर्ब रुपैयाँ चाहिन्छ । तर, पन्जाब सरकारले भने लाहोरको स्वतन्त्र चोकमा झन्डा फहराउने घोषणा गरेको छ 

आइएमएफ सम्झौतापछि साउदी अरब र युएईले गरे सहयोग

आइएमएफ र पाकिस्तान सरकारबीच नौ महिना लामो स्ट्यान्डबाई एरेन्जमेन्ट भएपछि ११ जुलाईमा साउदीले पाकिस्तानलाई दुई अर्ब डलर दियो । लगत्तै संयुक्त राज्य अरब (युएई)ले पनि एक अर्ब डलर सहयोग गर्यो ।

अपेक्षाभन्दा धेरै सहयोग
पाकिस्तानले पाएको तीन अर्ब डलरको राहत प्याकेज उसको अपेक्षाभन्दा बढी भएको बताइएको छ । सन् २०१९ मा भएको सम्झौताका आधारमा दुई अर्ब ५० करोड डलर प्राप्त हुनुपर्ने थियो । पाकिस्तान र आइएमएफबीच ६ अर्ब ५० करोड डलरको ऋणमाथि २०१९ मै सहमति भएको थियो । यसैमध्येको दुई किस्ता पाकिस्तानले प्राप्त गरिसकेको छ । 

टाट पल्टिने सँघारमा
आइएमएफसँग सम्झौता हुनुपूर्व पाकिस्तान टाट पल्टिने सँघारमा थियो । गत महिनाको महँगीलाई हेर्दा आमसर्वसाधारणको दैनन्दिन जीवनलाई प्रभावित पारेको छ । समाचारअनुसार गत महिना टमाटरको मूल्य १.११ प्रतिशतले, चिकेन २.८७, प्याज ७.३१, चिया १.५६, नुन १.०८, आटा ४.०६ र ग्यासको मूल्य ४.४६ प्रतिशतले बढेको छ । 

सुझावित समाचार