अनियमितताको आरोप लगाएपछि फार्मेसी प्रमुखद्वारा आत्महत्या

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुखले अस्पतालमै आत्महत्या गरेका छन् । अनुसन्धानका लागि प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरेको छ । ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसी इन्चार्ज रहेका अमृत पोखरेलले आत्महत्या गरेका हुन् । आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित चारजनालाई पक्राउ गरेको छ ।  

फार्मेसीको स्टोरमा शुक्रबार बिहान पोखरेललाई झुन्डिएरको अवस्थामा मृत भेटिएको थियो । सिसिटिभी फुटेज र सुसाइड नोटका आधारमा पोखरेलले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सुसाइड नोटमा उनले सहकर्मीहरूले अनियमितताको आरोप लगाएर ब्लाकमेलिङ गरेको र फसाउन खोजेको उल्लेख गरेका छन् । 

प्रहरीका अनुसार केही समयअघि सो फार्मेसीमा औषधि बिक्रीको हिसाबमा करिब २३ हजार रुपैयाँ गडबड भएको थियो । अस्पतालका केही कर्मचारीले सो प्रकरणमा उनलाई लिखित रूपमै माफी मगाएका थिए । सोही लिखित माफीलाई प्रमाण बनाएर अस्पतालका निर्देशकसमक्ष उजुरी गरी छानबिन गराइएको थियो । छानबिन लम्ब्याएर यातना दिएपछि तनावमा रहेका उनले आत्महत्या गरेको हुन सक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

‘उनको छवि अस्पतालमा इमानदार कर्मचारीको देखिन्छ,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्, ‘तर, केही कर्मचारीले उनलाई फार्मेसी प्रमुखबाट हटाउन अनियमितताको आरोप लगाई नियोजित रूपमा लिखित माफी माग्न लगाएर ब्लाकमेलिङ गरेको देखियो । त्यहीकारण आत्महत्या दुरुत्साहनमा पक्राउ गरेका हौँ ।’ फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेलले सुसाइड नोटमा आफूलाई यातना दिने कर्मचारीको नाम भने खुलाएका छैनन्, तर विवरण भने उल्लेख गरेका छन् । उनले आफ्ना परिवार तथा अस्पतालका चिकित्सकसँग समेत माफी मागेका छन् । 

घटनाको अनुसन्धानका लागि बस्नेतसहित फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरिएको काठमाडौंपरिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए । प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा कर्मचारीमाथि कारबाही अघि बढाउने तयारी गरेको छ । चारजनाविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । चारजना पक्राउ गरिएको र यातना दिने थप कर्मचारीमाथि छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ । 

सुझावित समाचार