दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २० जनाको मृत्यु भएको छ भने अन्य कयौँ बेपत्ता भएका छन्।
सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ।
पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्। स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन्।
बाढीपहिराका कारण अहिलेसम्म सातजनाको मृत्यु भएको अभिलेख रहे पनि त्यो अझ बढ्न सक्ने बताइएको छ। पहिरो र भवन भत्किँदा सातजनाको मृत्यु भएको हो। उत्तरी ग्योङसाङ प्रान्तमा खोलाले बगाउँदा तीनजना बेपत्ता भएका छन्।
कोरिया रेलरोड कर्पोरेसनका अनुसार सबै नियमित रेल सेवा राष्ट्रव्यापी रूपमा बन्द गरिएका थिए भने केही ‘बुलेट ट्रेन’ समयतालिका समायोजन गरी सञ्चालन भएका छन्।
प्रधानमन्त्री हान डक–सुले विपद् व्यवस्थापन निकायका अधिकारीहरूलाई आपतकालीन सेवा प्रवाह तथा विपद् प्रतिकार्यलाई गति दिन आग्रह गरेका छन्। उनले रक्षा मन्त्रालयबाट सञ्चालन हुने उद्धार कार्यमा सघाउन सम्बद्ध निकायहरूलाई निर्देशन पनि दिएका छन्।