ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सचेत छौँ : अर्थमन्त्री महत

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताएका हुन्।

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उनको भनाइ छ। उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए। उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउने गरी ऋण लिनुपर्नेमा उनले जोड दिए। 

उनले भने, ‘हामीले जुन ऋण उठाइराखेका छौँ। त्यो हाम्रो आवश्यकताअनुसार उठाउनुपर्छ। हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ। हामीले सोच्नुपर्नेचाहिँ के हो भने कति ऋण लियौँ भन्नेभन्दा पनि त्यो ऋण कहाँ खर्च गर्यौँ ? कसरी खर्च गर्यौँ ? त्यो महत्वपूर्ण कुरो हो। हामीले उत्पादन बढाउने हिसाबले ऋण लिनुपर्यो भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको छ। उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्छ।’

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक ०८० साउन १ गते सोमबार दिनको १ः०१ बजे बस्ने गरी बोलाइएको छ।

सुझावित समाचार