माटो बेच्ने प्रअ र अध्यक्षसहित चारविरुद्ध मुद्दा दायर

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले लालझाडी गाउँपालिका- ४ डाँगाजाईस्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, अध्यक्ष लक्ष्मण रानासहित चारजनाका नाममा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

विद्यालयको हाताभित्र रहेको जमिनको गैरकानुनी रूपमा उत्खनन गरेर स्थानीय इँटाभट्टालाई माटो बिक्री गरेको अख्तियारमा उजुरी परेको थियो। विद्यालयका प्रअ बोहराकै योजनामा अध्यक्ष रानालाई झुक्याएर लाखौँको माटो बिक्री गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

आर्थिक वर्ष ०७६/७७ र ०७७/७८मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा प्रदेश सरकारको आर्थिक ऐन २०७६ को दफा ८ बमोजिम अनुसूची ६ ले तोकेबमोजिमको करबापतको सात लाख २९ हजार पाँच सय १४ रुपैयाँबराबरको हानि–नोक्सानी गरेको पाइएको हुँदा विद्यालयका अध्यक्ष राना, प्रअ बोहरा, स्थानीय न्यु भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट, अर्का इँटा उद्योग सिद्ध बैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्धमा छुुट्टाछुट्टै माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले निकालेको प्रेस विज्ञप्तिमा चारैजनाविरुद्ध फरकफरक रकम माग गरिएको छ। 

अध्यक्ष राना र प्रअ बोहरालाई जनही सात लाख २९ हजार पाँच सय १४ रुपैयाँ जरिवाना माग दाबी गरिएको छ। यस्तै न्यु भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाटलाई भ्रष्टाचार निवारण ऐनअनुरूप चार लाख ११ हजार ६ सय ६ र सिद्ध बैजानाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई तीन लाख १७ हजार  नाै सय आठ रुपैयाँ जरिवानासहित माग दाबी गरिएको छ।

प्रअ बोहरा र अध्यक्ष रानाको पैसा कमाउने लोभमा इँटा उद्योगीलाई समेत मुछेको कतिपय अभिभावकको भनाइ छ। गैरकानुनी रूपमा विद्यालयको माटो, सम्पत्ति बेच्ने कार्यमा संलग्न प्रअ, अध्यक्षलाई बराबरी जरिवाना तोकिएको छ। 

विद्यालयको शैक्षिक सुधारका लागि कार्यरत हेडसर नै यसरी माटो बेच्ने धन्दामा लागेपछि सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिको साटो खस्किने गरेको शिक्षाविद्हरूको भनाइ छ। 

सरकारी विद्यालयका प्रअ र अध्यक्ष विद्यालय बनाउनुभन्दा कमाउधन्दातिर लागेपछि एकातिर शैक्षिक स्तर अर्कातिर भ्रष्टाचार मौलाउँदै गएको छ। 

उक्त विद्यालयमा हाल अर्का शिक्षक जादुराम रानालाई प्रअको जिम्मेवारी दिएको लालझाडी गाउँपालिका शिक्षाशाखा प्रमखु सिद्धराज भट्टले बताए। विद्यालयका प्रअ र अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागेपछि अभिभावक मात्रै होइन, विद्यार्थीसमेत चिन्तित भएका छन्। 

सुझावित समाचार