कानेपोखरीका नागरिकको माग : बाटो होइन, डुबानबाट मुक्ति पहिले

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण
कानेपोखरीका नागरिकको माग : बाटो होइन, डुबानबाट मुक्ति पहिले

गत बैशाखमा कानेपोखरीको कोलटोल अनुगमन गर्न पुगेका मन्त्री र सांसदहरु ।

गत वैशाख २२ गते कोसी प्रदेशका तत्कालीन भौतिक योजनामन्त्री दुर्गा चापागाईंलाई लिएर मोरङ २(ख) का प्रदेश सांसद लीलाबल्लभ अधिकारी कानेपोखरी गाउँपालिका– ३ स्थित कोलटोल पुगेका थिए। त्यहाँ उनले मन्त्रीलाई सीमान्तकृत समुदाय बस्ने गाउँको जर्जर अवस्था देखाए। अनि स्थानीयसँग मन्त्रीको परिचय गराउँदै भनेका थिए, ‘अब मन्त्रीजीले हेरिसक्नुभयो। तपाईंहरूको गाउँको बाटो पनि बजेटमा पर्नेछ।’ तर, कोलटोलवासीको जवाफ थियो, ‘माननीयज्यू हामीलाई बाटो होइन, पहिले डुबानमुक्त गराइदिनुहोस्।’

मोरङको दक्षिणी क्षेत्रमा रहेको कानेपोखरी गाउँपालिकामा पर्ने कोलटोलमा करिब तीन सय घरपरिवार बस्छन् । यहाँ बसोवास गर्ने सबै दलित र सीमान्तकृत समुदायका बासिन्दा छन्। मजदुरी गरेर जीविका चलाउनले उनीहरू सबैको घर बाँस, माटो र फुसको छ। नजिकै रहेको डाँसखोलामा हरेक बर्खायाममा  उर्लेर आउने बाढीले उनीहरू हरेक वर्ष विस्थापित हुन्छन्। बाँस, माटो र परालले बनाएको कच्ची घर बाढीले हरेक वर्ष डुबाएर लान्छ। उनीहरू वर्षौँदेखि बर्खायाममा विस्थापित भएर शरणार्थीझैँ जीवन बिताउन बाध्य छन्। कोलटोलका अगुवा हरि विश्वकर्माले मन्त्री र सांसदहरूलाई हात जोडेर भनेका थिए, ‘हाम्रो समस्याको प्राथमिकता बाटो होइन, डुबान हो। यसैले पहिले हामीलाई डुबानमुक्त बनाइदिनुपर्याे।’

स्थानीय अगुवा चन्द्र चौधरीका अनुसार वर्षौँदेखि यहाँ बस्दै आएका कोलटोलवासीलाई सबैभन्दा ठूलो समस्या अझै पनि डुबानकै छ। हिउँदमा बस्ती सफासुग्घर देखिए पनि बर्खायाममा टोलवासीले सास्ती पाउँदै आएका छन्। उनीहरू बर्खायाममा एक महिनाभन्दा बढी समय नजिकको विद्यालयमा शरणार्थी बन्छन्। पालिका र दाताहरूले दिएको राहतले कष्टकर गुजारा चलाउँछन् । बर्खायाम   टरेपछि मात्र उनीहरू  पुनः बाढीले भत्काएको कर मर्मत गरेर बसोवास गर्छन्।

स्थानीय अगुवा चन्द्र चौधरीले डुबान समस्याबाट मुक्ति पाउन सके रोजगारी गरेर जीविका धान्न सहज हुने उल्लेख गर्दै सबै तहका सरकार र सांसदहरूसँग गुनासो गरे पनि हालसम्म खोलामा तटबन्ध नबेकाले यसपालि पनि बाढीको जोखिम उस्तै रहेको बताए। उनले निन्याउरो अनुहार लगाउँदै  भने, ‘डुबानमुक्त हुन पाए कम्तीमा हामीले हरेक वर्ष शरणार्थी भएर अर्काको दयाको खानाखाजामा भर पर्नुपर्ने थिएन। आफैँ कमाएर जीविका चलाउन सक्ने थियौँ।’

मन्त्रीलाई लिएर आफ्नो क्षेत्र भ्रमण गर्न गएका सांसद अधिकारी मात्र नभएर अर्की सांसद गीता तिम्सिनाले पनि कोलटोलवासीको डुबानको समस्या सुनेपछि दिगो तटबन्धका लागि प्रदेश सरकारसँग योजना माग गर्ने र बस्तीलाई   डुबानमुक्त गराउन जनता  आवास कार्यक्रम चाँडै लागू गराउने प्रतिबद्धता जनाएकी थिइन्। तर, यसपालि पनि यो टोललाई डुबानमुक्त बनाउने योजना भने सुरु भएको छैन। कानेपोखरी गाउँपालिका– ३ नम्बर वडाध्यक्ष गोपालबहादुर कार्कीले मन्त्री र सांसदहरूई समस्या बुझाएर योजना पठाए पनि अझै तटबन्ध र सुरक्षित आवासका लागि योजना परेको आफूहरूलाई जानकारी नभएको बताए। अध्यक्ष कार्कीले भने, ‘कोलटोल मात्र नभएर अर्को ऋषिदेव टोल पनि हरेक वर्ष बगाउँछ। तर, हामी बजेट अभावले तत्काल उद्धार गर्न र राहत बाँड्नमै सीमित हुनुपरेको छ।’

कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले कोलटोलवासीको मात्र नभएर डाँस खोलाले गर्दा कानेपोखरीका धेरै वडाहरूमा  डुबान र कटानको समस्या  रहेको, तर गाउँपालिकाले चाहेर पनि सबै समाधान गर्न नसक्ने बताए। उनले कोलटोलवासीलाई सुरक्षित आवास निर्माण गरेर अन्यत्र सार्ने योजना बनाए पनि पालिकाको बजेटले मात्र सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारले पनि सहयोग गरे मात्र डुबान समस्याबाट छुटकारा पाउन सकिने प्रस्ट पारे। पालिकाको सीमित बजेटले डुबान र कटानको रोकथाम सम्भव नभएकाले अझैसम्म उद्धार र राहतमै सीमित हुनुपरेको उनको भनाइ छ।

स्थानीय प्रदेश सांसद लीलाबल्लभ अधिकारीले कोलटोलवासीका लागि मात्र नभएर कानेपोखरी गाउँपालिका र सुनबर्सी नगरपालिका क्षेत्रमा हुँदै आएको डुबानको समस्या समाधानका लागि आफूहरूले पटकपटक सरकारलाई जानकारी गराएर योजना माग गरिसकेको भए पनि अझै प्राथमिकतामा पर्न नसकेको बताए। उनले आफूहरूकै पहलमा कानेपोखरीको ३ नम्बर वडा र सुनबर्सीको १ नम्बर वडालाई जोड्ने गरी पक्की पुल निर्माण गरेको दाबी गरे। सांसद अधिकारीले भने, ‘सक्दो आवाज उठाइरहेका छौँ, तर योजना दिने काम सरकारको भएकाले हामीले चाहेर मात्रै स्थानीयलाई डुबानमुक्त बनाउन नसकेका हौँ।’

हरेक वर्ष कटान र डुबानको समस्या भोग्नुपर्ने ‘नियति’
दिगो तटबन्ध र सुरक्षित तथा व्यवस्थित आवासको अभावमा हरेक वर्ष मोरङका कानेपोखरी, जहदा, कटहरी, बुढीगंगा, सुनबर्सी, रंगेली, रतुवामाई, पथरी–शनिश्चरे, बेलबारी र लेटाङका बासिन्दा बाढीको जोखिममा हुन्छन्।
पथरी–शनिश्चरे र सुनबर्सी नगरपालिकाका बासिन्दालाई स्थानीय बक्राहा खोलामा दिगो तटबन्ध नहुँदा कच्ची तटबन्ध भत्काएर खोला गाउँमा कतिखेर पसेर बित्यास मच्चाउला भन्ने चिन्ता हरेक वर्ष हुन्छ। यसैले उनीहरूले हरेक वर्ष बाँसको स्पर बनाएर खोलाको धार फर्काउने प्रत्यत्न गर्दै आएका छन्।

रतुवामाई नगरपालिकाका बासिन्दा बक्राहासँगै रतुवा खोलाको मार पनि सहन बाध्य छन्। यसैगरी रंगेली नगरपालिकामा चिसाङ खोलाको डुबान र कटानले स्थानीयलाई सास्ती दिँदै आएको छ । बुढीगंगा गाउँपालिकामा पूर्वतर्फ रहेको सिँगिया र पश्चिमतर्फ रहेको केसलिया खोलाले क्षति गर्दै आएको छ । जहदा र कटहरी गाउँपालिकाका बासिन्दा असुरक्षित बसोवासका कारण हरेक वर्ष डुबानमा पर्दै आएका छन्। 

जिल्ला सदरमुकाम एवं कोसी प्रदेशकै राजधानी विराटनगर महानगरपालिकाको  विभिन्न वडासहित जिल्लाका अन्य स्थानमा पनि डुबान र कटान हुँदै आएको छ। तर, दिगो समाधानका लागि सम्बन्धित निकायबाट पहल हुन नसक्दा नागरिकले वर्षौँदेखि सास्ती व्यहोर्दै आएका छन्।

सुझावित समाचार