असारे र डोजरे विकासको अन्त्य गर्न प्रतिबद्ध छौँ : मन्त्री ज्वाला

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनविना डोजरचालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्तिहरू भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

डोजरे विकासका कारण सयौँ बिघा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए। उनले काठमाडौंलगायत विभिन्न राजमार्गहरूमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको जानकारी गराए। सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि उनले बताए। 

उनले भने, ‘हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छौँ। राजधानी काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भार गरेर यात्रुहरूलाई पीडा हुन नदिन मन्त्रालयअन्तर्गतका निकायहरूलाई निर्देशन दिइसकिएको छ। सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिँदै छ। सवारीचालक अनुमतिपत्र नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाइएको छ। इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ।’
 
उनले नारायणघाट–मुग्लिन सडकखण्डमा पहिरोका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडकखण्डको पनि विस्तार कार्य अगाडि बढाइरहेको बताए। 

सुझावित समाचार