सिडिएस एन्ड क्लियरिङ लिमिटेडले रियल टाइम आइपिओ भेरिफाई गर्ने सिस्टम लागू गर्ने भएको छ । कम्पनीहरूको प्राथमिक सेयरमा आवश्यकताभन्दा बढी फर्जी आवेदन पर्न थालेपछि सिडिएससीले रियल टाइम सिस्टम लागू गर्ने भएको हो ।
यो सिस्टम लागू भएसँगै लगानीकर्ताको खातामा कित्ताअनुसार रकम नभएमा आवेदन परेको केही मिनेटमै अस्वीकृत हुनेछ भने खातामा भएमा आवेदन स्वीकृत हुनेछ । पछिल्लो समय घोराही सिमेन्ट इन्डस्ट्रिजको सेयरमा खातामा रकम नै नभई आवश्यकताभन्दा बढीको फर्जी आवेदन परेपछि यस्ता घटनालाई रोक्न सिडिएससी एक वर्षदेखि नै यस रियल टाइम सिस्टम लागू गर्ने तयारीमा जुटेको थियो ।
अहिले परीक्षणको क्रममा रहेको सिडिएससी एन्ड क्लियरिङका प्रवक्त सुरेश न्यौपानेले जानकारी दिए । उनले भने, ‘अहिले हामी परीक्षणको क्रममा छौँ, बोर्डबाट अनुमति पाएसँगै नयाँ आर्थिक वर्षको पहिलो हप्ताबाट लागू गर्ने तयारी भइरहेको छ ।’
अनुमतिका लागि बोर्डको पर्खाइ
रियल टाइम सिस्टम लागू गर्नका लागि सिडिएससीले धितोपत्रसमक्ष अनुमति मागेको छ । परीक्षणको अन्तिम चरणमा रहेको सिस्टमलाई धितोपत्र बोर्डले अनुमति दिएसँगै लागू हुनेछ । उक्त सिस्टमलाई अनुमति दिनका लागि सर्वप्रथम बोर्डको सञ्चालक समितिले पास गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले यस विषयमा छलफल चलिरहेको र अध्यक्ष हमाल पनि बाहिर रहेकाले उनी आएपछि प्रक्रिया अघि बढ्ने बताए । उनले भने, ‘अनुमतिका लागि आएको छ, हामीले छलफल गरेर अनुमति दिन्छौँ । तर, केही दिन लाग्न सक्छ ।’
कसरी हुन्छ रियल टाइम भेरिफाई ?
हाल लगानीकर्ताहरूले आवेदन दिएपछि बैंकले नै निकै ढिलो गरेर फुर्सदमा भेरिफाई गर्ने गरेको छ । यो सिस्टम लागू भएपछि भने रियल हुनेछ । सिडिएससीका अनुसार उनीहरूकोे सिस्टम र बैंकको सिस्टममा त्यो कनेक्ट हुन्छ एप्लिकेसनअनुसार यसले बैंकलाई रियल टाइममा डेटा पठाउँछ । त्यसपछि भेरिफाई पनि छिटो हुन्छ । यसले फर्जी आवेदनदेखि लगानीकर्ताको उद्देश्यलाई देखाउँछ र कम्पनीको सेयरमा बढीभन्दा बढी आवेदन देखाउँदैन ।
लगानीकर्ताहरू यस प्रणालीलाई ढिला नगरी लागू गर्नुपर्ने बताउँछन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले लगानीकर्तासँग प्रत्यक्ष जोडिएको हुँदा कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले भने, ‘विगतदेखि नै हामीले यस विषयलाई उठाउँदै आएका हौँ, घोराहीको सेयरबाट हामीलाई राम्रो पाठ सिकाएको यो सिस्टम अति आवश्यक छ ।’