ललितानिवास जग्गा हिनामिना प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पौडेल पक्राउ

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । 

सरकारी जग्गा भएको जान्दाजान्दै पौडेलले कम्पनीको नाममा रहेको १९ रोपनी पाँच आना एक पैसा दुई दाम जग्गा गुठीमा लग्न भूमिका खेलेका थिए । यसबापत उनले ललितानिवासकोे १४ आना जग्गा घुस लिएका थिए । जसमध्ये ११ आना जग्गा कित्ता नम्बर ३४ हो भने बाँकी तीन आना कित्ता नम्बर २१ हो । 

घुसबापतको जग्गा उनले श्रीमती विद्या पौडेल गौतमको नाममा दर्ता गराएका थिए । उनले उक्त जग्गा एक लाख ३१ हजार तीन सय रुपैयाँमा २९ जेठ ०५० मा बकस लिई पास गराएका थिए । सिआइबीका एसएसपी दिनेश आचार्यले समरजंग कम्पनीको जग्गा सरकारी रहेको जान्दाजान्दै पौडेलले पशुपति टिकिन्छा गुठीमा लैजान भूमिका खेलेको र यसबापत उनले १४ आना जग्गा खुस बुझेको देखिएपछि उनलाई पक्राउ गरिएको बताए । ‘समरजंग कम्पनीको नाममा रहेको जग्गा गैरकानुनी ढंगले गुठीमा लैजान भूमिका खेलेको पाइयो । यसबापत उनले घुसका रूपमा जग्गा बुझेका रहेछन् । उक्त जग्गा उनले श्रीमतीको नाममा पास गराएका थिए,’ उनले भने । 

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चारसचिव कृष्णबहादुर राउत, भूमिसुधार व्यवस्थापन विभागका पूर्वमहानिर्देशक रुद्रकुमार श्रेष्ठ, भवन मर्मतसम्भार डिभिजन कार्यालय काठमाडौंका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठसहित १९ जनालाई पक्राउ गरेको छ । जसमध्ये १६ अभियुक्त प्रहरी हिरासतमा र बाँकी तीनजना बाहिर छन् । 

सुझावित समाचार