यस प्रतियोगितामा एक सय १२ देशको सहभागिता रहेको छ । जसमा ६ सय १८ जना विद्यार्थी सहभागी छन् । यी विद्यार्थीमध्ये छात्राको संख्या ६७ रहेको छ ।
जापानको चिवा सहरमा जारी ६४औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) २०२३ मा नेपालबाट स्वीकृति आचार्यले नयाँ रेकर्ड बनाएकी छिन् । उनले गत वर्षको आफ्नो रेकर्ड तोडेर उच्च अंकको नयाँ रेकर्ड बनाएकी हुन् । उनले १४ अंकसहित ‘अनरेबल मेन्सन’ पुरस्कार पाएकी छिन् । यो पुरस्कार दोहोर्याएर पाउने उनी पहिलो नेपाली विद्यार्थी हुन्।
यसअघि २०१९ मा बेलायतमा भएको प्रतिस्पर्धामा कार्तिकेश मिश्रले नेपालको तर्फबाट नौ अंक प्राप्त गरी उच्च रेकर्ड राखेका थिए । २०२१ मा रसियामा भएको प्रतियोगितामा युवराज सरदाले सात अंकसहित ‘अनरेबल मेन्सन’ पुरस्कार प्राप्त गरेका थिए ।
२०२२ मा नर्वेमा भएको प्रतियोगितामा स्वीकृति आचार्यले १० अंक प्राप्त गरी नेपालको नयाँ रेकर्ड बनाएकी थिइन् । अहिले उनले उक्त रेकर्ड तोडेर १४ अंकसहित नेपालबाट नयाँ रेकर्ड कायम गरेकी हुन् । यसैगरी २०२२ मा कपिल शर्माले पनि ८ अंक प्राप्त गरी उक्त पुरस्कार पाएका थिए ।

यस प्रतियोगितामा भाग लिन नेपालबाट स्वीकृती आचार्य, नयम बरुण, कृतेश ढकाल, आवर्तनमान कर्माचार्य, प्रकाश पन्त र सुमिरन सुवेदी गरी ६ जना विद्यार्थी सहभागी छन् । असार १८ देखि २८ सम्म जारी रहने यस प्रतियोगितामा एक सय १२ देशको सहभागिता रहेको छ । जसमा ६ सय १८ जना विद्यार्थी सहभागी छन् । यी विद्यार्थीमध्ये छात्राको संख्या ६७ रहेको छ । यस प्रतियोगितामा नेपालले राम्रो नतिजा ल्याएको छ ।
यो प्रतियोगितामा भाग लिन नेपाल गणित संघका महासचिव सनदकुमार आचार्यको नेतृत्वमा नेपाली टोली जापान गएको छ । जसमा नेपाल गणित संघका कोषाध्यक्ष छवि ढुंगानाले सहायक लिडरको रूपमा सहभागिता जनाएका छन् ।

यस प्रतियोगितामा नेपाललाई सहभागी गराउन गणितविज्ञ भद्रमान तुलाधरको विशेष भूमिका रहेको छ । उनी पनि यस प्रतियोगितामा सहभागी भएका छन् । यस प्रतियोगिताको अवलोकनकर्ताको रूपमा गणितविज्ञ एवं नेपाल गणित संघका संरक्षक भद्रमान तुलाधर, निरुला तुलाधर, नेपाल गणित संघका उपसभापति हरिप्रसन्न कँडेल र नेपाल गणित संघका कार्यसमिति सदस्य नारायण पौडेल पनि जापान गएका छन् ।
यो प्रतियोगिता सन् १९५९ देखि प्रत्येक वर्ष हुँदै आएको छ । नेपाल गणित संघको पहलमा नेपालले सन् २०१७ देखि यस प्रतियोगितामा भाग लिँदै आएको छ । नेपालको यो सातौँ सहभागिता हो । नेपाललाई यस प्रतियोगितामा सहभागी गराउन नेपाल गणित संघका पूर्वअध्यक्ष दीपक बास्तोलाको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यस प्रतियोगितामा भाग लिन २० वर्ष उमेर पूरा नभएका, कुनै पनि विश्वविद्यालयमा स्नातक तहमा भर्ना नभएका विद्यार्थी आ-आफ्नो देशबाट राष्ट्रिय रूपमा छानिन्छन् । यस प्रतियोगितामा भाग लिन नेपाल गणित संघको आयोजनामा देशभरबाट विद्यार्थीले परीक्षा दिएका थिए ।
यसैमध्येबाट अन्तिम परीक्षामा छनोट भएका ६ जना विद्यार्थी यस प्रतियोगितामा सहभागी भएकाे नेपाल गणित संघका अध्यक्ष विनोदप्रसाद पन्तले जानकारी दिए । यस प्रतियोगितामा प्रत्येक वर्ष एउटा देशबाट बढीमा ६ जना प्रतियोगीले मात्र भाग लिन पाउँछन् ।
‘यस प्रतियोगितामा भाग लिन पाउनु भनेको विद्यार्थी र देशकै लागि गौरवको विषय हाे,’ पन्तले भने, ‘अन्य देशमा राज्यले नै यस प्रतियोगितामा भाग लिन विद्यार्थीलाई हौसला प्रदान गर्छन्, तर नेपाल सरकारले यसमा कुनै सहयोग गरेको छैन ।’
यो प्रतियोगिताको परीक्षा दुई दिनसम्म हुने गर्छ । प्रत्येक दिन तीन–तीनवटा गरी जम्मा ६ वटा प्रश्न सोधिन्छ । तीनवटा प्रश्न समाधानका लागि साढे चार घन्टाको समय हुन्छ । प्रत्येक प्रश्नको अंकभार सात हुन्छ । यस प्रतियोगितामा सहभागी भएकामध्ये करिब ५० प्रतिशतले पदक प्राप्त गर्छन् ।
