ब्याजदर निर्धारणमा बैंकहरूकै मिलेमतो भयो : अर्थमन्त्री महत

बैंकका सञ्चालकले आफ्नै उद्योगमा बैंकको पुँजी लगाएको अर्थमन्त्रीको दाबी

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर निर्धारणमा मिलेमतो गरेको बताएका छन् । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘ब्याजदरलगायत अन्य विषय मिलेमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा एकदमै जरुरी छ ।’ अर्थमन्त्री डा. महतले वित्तीय संघ–संस्थाले सुविधा मात्रै माग्ने, तर प्रतिस्पर्धा नगरेको लगाए । उनले संघ–संस्थाहरू आफ्नो हितमा मात्रै केन्द्रित भएकोसमेत बताए ।  

 बैंकर्स र उद्योगी एउटै व्यक्ति
उनले बैंकर्स र उद्योगी एउटै व्यक्ति हुँदा पुँजी प्रवाह मध्यम र साना लगानीकर्तामा केन्द्रित हुन नसकेको बताए । ‘बैंकर्स र उद्योग एउटै व्यक्ति हुने नेपालको वास्तविकता हो । सामान्यतः संसारमा यस्तो हुँदैन । आफ्नै बैंकमा जम्मा भएको पुँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ,’ मन्त्री महतले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पुँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ ।’बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिपे्रक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैंकले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको उनको भनाइ छ ।

कार्यक्रममा डा. महतले भने, ‘०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रूपमा विस्तार भएको हो । बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति छ । यसबाहेक विभिन्न वित्तीय संस्थाहरू आएका छन् । बिमा क्षेत्रमा पनि धेरै निजी कम्पनीहरू आएका छन् । बिमा कम्पनी धेरै भएकाले अहिले मर्जरको कुरा आइरहेको छ । वित्तीय क्षेत्रको वृद्धि अन्य क्षेत्रको तुलनामा व्यापक रूपमा भएको छ । प्रविधिमा आएको परिवर्तन आएकाले पारदर्शिता पनि धेरै विकसित भएको छ । यो सबैका लागि खुसीको कुरा हो ।’

बैंक र वित्तीय संस्थाहरूले कार्यपद्धति अन्तर्राष्ट्रियस्तर अपनाएर उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्नेमा विश्वस्त रहेको उनले बताए । डा. महतले भने, ‘बैंकिङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैंकलाई राष्ट्र बैंकको सहयोगमा सुधार भएको पाइन्छ । कृषि विकास बैंकमा पनि सुधारको आवश्यकता छ ।’
उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएकाले बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको बताए । उनले भने, ‘यसलाई हामी छिट्टै कार्यान्वयनमा ल्याउनेछौँ ।’ 

 ‘वित्तीय संस्था धेरै भए, काबुबाहिर गए’
अहिले वित्तीय संस्थाको संख्या बढी भएको र  साना वित्तीय संस्थाले पनि ठूलो स्वरूप ग्रहण गरेको उनले उल्लेख गरे । कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबुबाहिर गएकाले राष्ट्र बैंकले उचित निर्णय लिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘तत्कालको परिवेशमा हामी केही समस्यामा छौँ, यो समस्याबाट बाहिर निस्कने क्रममा हामी छौँ । पछिल्लो तथ्यांकअनुसार मूल्यवृद्धि घटिरहेको छ । ७ प्रतिशतभन्दा तल आउनु सुखद हो, आउँदो वर्ष ६ दशमलव ५ प्रतिशतमा ल्याउने हाम्रो लक्ष्य हो ।’

सुझावित समाचार