सरकारी सुविधाधारीलाई इन्धनको सट्टा नगद

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

मापदण्ड बनाउन अर्थ मन्त्रालयले बनायो समिति 

सरकारी सुविधाअन्तर्गत सवारीसाधन पाउने पदाधिकारी तथा कर्मचारीलाई इन्धनको सट्टा नगदै दिने आगामी आर्थिक वर्षको बजेटको व्यवस्था कार्यान्वयनको मापदण्ड तयार गर्न समिति गठन भएको छ । अर्थ मन्त्रालयले मन्त्रालयको प्रशासन महाशाखा प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । 

समितिमा कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासनका सहसचिव, महालेखानियन्त्रक कार्यालयका सहमहालेखानियन्त्रक, अर्थ मन्त्रालयको बजेट महाशाखाको केन्द्रीय बजेट हेर्ने उपसचिव सदस्य छन् । अर्थ मन्त्रालयको आर्थिक प्रशासन हेर्ने उपसचिव सदस्यसचिव छन् । समितिले इन्धनको सट्टा नगदै दिने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए । समितिलाई सात दिनको समय दिइएको छ । समितिले असारभित्रै मापदण्डको मस्यौदा दिनेछ । समितिले तयार गरेको मापदण्ड मन्त्रिपरिषद् वा अर्थ मन्त्रालयले कसले स्वीकृत गर्ने भन्ने पनि समितिले नै सिफारिस गर्नेछ । 

सरकारले गत १५ जेठमा ल्याएको बजेट वक्तव्यको बुँदा नम्बर ४९ मा सवारीसाधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा इन्धनबापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । यही घोषणा कार्यान्वयनका लागि मापदण्ड बनाउन समिति गठन गरिएको हो । 

सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारीसाधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारीसाधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुस्ट रूपमा नगदै प्रदान गर्ने व्यवस्थाको सुरुवात गर्ने घोषणा पनि बजेटमा छ । तर, यससम्बन्धी कार्य जिम्मेवारी भने समितिलाई दिइएको छैन । बजेटको व्यवस्था कार्यान्वयन भए हालसम्म इन्धन सुविधा लिँदै आएका कर्मचारी तथा पदाधिकारीले त्यसबापत एकमुस्ट नगदै पाउनेछन् । 

यस्तो छ अहिलेको व्यवस्था 
कर्मचारी तथा पदाधिकारीलाई इन्धन सुविधा उपलब्ध गराउने सम्बन्धमा कार्यसञ्चालन निर्देशिका, २०७७ ले व्यवस्था गरेको छ । त्यसले पदाधिकारी तथा कर्मचारीले मासिक रूपमा पाउने इन्धनको कोटा तोकेको छ । जसअनुसार प्रधानमन्त्री र उपप्रधानमन्त्रीले जनही मासिक ३०६ लिटर, मन्त्रीले २०७ लिटर, राज्यमन्त्रीले २०० र सहायकमन्त्रीले १८० लिटर पेट्रोल पाउँछन् । त्यस्तै, कर्मचारीतर्फ सवारीसाधन सुविधा पाउने सचिवले सय लिटर र सहसचिवले ७० लिटर मासिक रूपमा इन्धन पाउँछन् । 

सरकारले सहसचिवसम्मलाई सवारीसाधनको सुविधा दिने कानुनी व्यवस्था भए पनि त्यसमुनिका पदका कर्मचारीले पनि ठूलो मात्रामा सवारीसाधन प्रयोग गर्दै आएका छन् । उनीहरूले मन्त्रालयबाटै इन्धन लिने गरेका छन् । सरकारले पदाधिकारी र कर्मचारीलाई इन्धनको मासिक कोटा तोके पनि यसको व्यापक दुरुपयोग हुँदै आएको छ । यसलाई नियन्त्रण गर्न सरकारले मापदण्डको तयारी गरेको हो । 
 

See More On

सुझावित समाचार