कामना सेवा र त्रिवि व्यवस्थापन विभागबीच सम्झौता

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौताअनुसार व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न कार्यक्रममा विद्यार्थी स्वयंसेवकहरू उपलब्ध गराउन सहमत भएको जनाइएको छ । साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीलाई बैंकको वित्तीय सेवा–सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने जनाइएको छ । सम्झौतापश्चात् बैंकले पहिचान गरेका क्षेत्रहरूमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धानसमेत गर्न सहमत भएको बैंकले जनाएको छ । 

बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई इन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसरसमेत प्रदान गर्ने सम्झौता भएको जनाइएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीलाई दुई विषयमा शोधकार्य गर्न छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ ।

सुझावित समाचार