अरबका एक व्यापारी उँटको व्यापार गर्थे । उनी उँटका बच्चा किनेर तिनलाई उचित लालनपालनपछि बलिया बनाएर राम्रै मूल्यमा बेच्ने गर्थे । उनी उँटको दानापानी जोगाउन हरेक दिन उँटलाई नजिकको घाँसेमैदानतिर पठाइदिन्थे । व्यापारीले पालेको उँटको समूहमा एउटा देख्दा बढी नै प्यारो लाग्नेखालको सानो उँट थियो । तर, ऊ निकै बदमास थियो । कसैले भनेको टेर्दैनथ्यो । ऊ जहिल्यै समूहबाट टाढाटाढा गइदिन्थ्यो । समूहका अगुवा उँटले भनेको ऊ कहिल्यै मान्दैनथ्यो । तर, त्यही बदमास उँट नै व्यापारीको निकै प्यारो थियो ।
व्यापारीले माया गरेर उसको घाँटीमा घन्टी झुन्ड्याइदिएको थियो । ऊ जता पुग्थ्यो, उसको घन्टीको आवाजले सजिलै उसको अवस्थितिबारे थाहा पाउन सकिन्थ्यो । एकपटक उँटको समूह घाँसेमैदानमा चर्न व्यस्त थियो । त्यस्तैमा सोही मैदान हुँदै एउटा सिंह कतै जाँदै थियो । सिंहले उँटको समूह देख्यो । भोकले रन्थनिएको भए पनि ठूलै बथान एकसाथ देखेपछि सिंहले उँटमाथि आक्रमण गर्न जाने हिम्मत भने गर्न सकेन । त्यसैले, ऊ मौकाको प्रतीक्षामा बस्यो ।समूहको अगुवा उँटलाई खतराको आभास भयो । उसले सबैलाई अब छिटोछिटो घरतिर फर्किनुपर्छ भन्दै सम्झायो । उसको खतराको घन्टी बजेपछि सबै उँट समूह नछाडी घरतिर लागे ।
अगुवा उँटले बदमास प्रकृतिको सानो उँटलाई पनि खतराको आभास गराउँदै घर फर्किन सचेत गरायो । तर, उसले अगुवाको चेतावनी सुन्नै चाहेन । त्यसैले, ऊ लापरबाहीसाथ समूह छाडेर अन्तै गयो । सिंह पनि यस्तै मौका ढुकेर बसेको थियो । उँटको समूह टाढा पुगिसकेपछि सिंहले सानो उँटमाथि आक्रमण गर्यो । उँटले आफूलाई जोगाउन कोसिस त गर्यो । तर, बलवान सिंहसामु उसले हार स्विकार्नैपर्यो । ठूलाले भनेको नमान्दा र आफ्नै मूर्खबुद्धिले गर्दा सानो उँटको ज्यान गयो ।