राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद्लाई सिन्डिकेट बनाउन खोजेको उनको आरोप छ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तीन राजनीतिक दलका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भन्दै असन्तुष्टि व्यक्त गरे।
‘संसद्लाई संसद्जस्तो बनाउनुपर्छ। सरकार अथवा ठूला दलहरूबीचको भागबन्डाको विषय नै होइन संसद्। प्रमुख तीन दलले संसद्लाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो। पहिलोपटक भएको छैन यसअगाडि पनि भएको थियो। त्यतिखेर पनि हामी चुपचाप बस्यौँ। ठीकै छ भनिरह्यौँ। तर, यो गर्न पाइँदैन। यो गलत हो। संसद्को मर्यादालाई, संसद्को गरिमालाई जोगाउनुपर्ने हुन्छ। जनप्रतिनिधिहरू त्यहाँ आमनागरिकको मुद्दा बोकेर आएका हुन्छन्। सरकारले एक त बिजनेस नै दिन सकिरहेको छैन। सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने? जे मुद्दा छ संसदमा लिएर आउने। संसदमा कुरा गरौँ,’ उनले भने।
सभापति लामिछानेले आफूहरू मिटरब्याजपीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए। आफूहरू मिटरब्याजपीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको टिप्पणी गरे।