काभ्रेको नमोबुद्ध नगरपालिकाले आधुनिक दुनाटपरी बनाउन तालिम प्रदान गरेको छ। घरायसी प्रयोजनको लागि बनाउँदै आएको दुना र टपरी बनाउने कामलाई व्यावसायिक बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो।
सालको पातबाट दुना, टपरी, बोतालगायत सामग्री बनाउनका लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्र्याएर वडा नं ३, ४ र ५ का १५ महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन्।
‘व्यावसायिक दुना, टपरी बनाउनको लागि हामीले तालिम प्रदान गरेका हौँ,’ सुनुवारले भनिन्, ‘दुना, टपरी बनाउने आधुनिक प्रविधि वडा नं. ३, ४ र ५ मा भित्राएका छौँ। यस व्यवसायबाट स्थानीयस्तरमै पाउने पातबाट स्थानीय आत्मनिर्भर भई आर्थिक उपार्जन गर्ने विश्वास लिएको सुनुवारको भनाइ छ।
तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रमुख प्रशिक्षक कमला सुवेदीलगायतले स्थानीयस्तरमा पाइने सामग्री र प्रविधिको प्रयोग गरेर व्यावसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गरे।