मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा जलेर नष्ट

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती डिपाट गाउँमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा जलेर नष्ट भएका छन्। दुर्घटनामा परी दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार गएराति पौने दुई बजे हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीका अनुसार दुर्घटनामा परी दुईजना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको र उपचारको लागि चितवनको भरतपुर पठाइएको छ।

दुर्घटनामा ट्रकका चालकहरू चितवन राप्ती नगरपालिका ३ का अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी ३ का  अन्दाजी ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन्। 

प्रवक्ता कार्कीले दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको र दुबै ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिए। हेटौँडा उपमहानगरपालिकाबाट गएका दुईवटा दमकलले ट्रकमा लागेको आगो निभाएका हुन्।

सुझावित समाचार