ठगी तथा धम्कीजस्ता मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका प्रफुल्ल राणा भनिने प्रमोदराज पन्त फेरि पक्राउ परेका छन् ।
छुट जग्गा दर्ता गराइदिने भन्दै दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।
उनले दीपेशचन्द्र बज्राचार्यलाई दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेका हुन् । पोखरामा दुई हजार आठ सय रोपनी जग्गा दर्ता गरिदिने भन्दै उनले ठगी गरेका हुन् । काम नगरेपछि पैसा फिर्ता माग्दा उनले उजुरी नगर्न धम्की दिँदै आएका थिए ।
उच्च प्रहरी अधिकारीसँग चिनजान भएकाले उजुरी गरे पनि कसैले पक्राउ गर्न नसक्ने भन्दै उनले पीडितलाई धम्क्याउने गरेका थिए । ठगीमा उनलाई सघाउने सोजेनमान मालाकारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणालाई धम्क्याएको आरोपमा प्रहरीले आठ वर्षअघि उनलाई पक्राउ गरेको थियो । छुटेपछि पनि उनको धम्की र ठगीको धन्दा चलिरहेको प्रहरी अधिकारी बताउँछन् । पन्त नटवरलाल भएको अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीको भनाइ छ ।
पन्तले सिन्धुपाल्चोकको मुडेमा रिसोर्ट चलाउँदै आएका छन् । रिसोर्टमा वन्यजन्तुका मासु पनि बिक्री हुने गरेको स्थानीय बताउँछन् । उक्त रिसोर्ट पनि उनले हडपेको आरोप लाग्दै आएको छ । ०६५ सालदेखि नै उनीविरुद्ध ठगी मुद्दा लाग्दै आएको छ ।