अदालतका कर्मचारी–बार मिलापत्र

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङमाथि १३ असारमा कार्यकक्षमै कुटपिट गरेको भनी अधिवक्ता अमिर लामिछानेमाथि अभद्र व्यवहारमा जाहेरी परेकोमा दुवै पक्षले मिलापत्र गरेका छन् । बिहीबार दुवै पक्षबीच बार र अदालतका प्रतिनिधिबीच सहमति भएको हो । 

दुवै पक्षले घटनायता विरोधका कार्यक्रम गर्दै आएकोमा त्यसले सेवाग्राहीमा पर्न गएको मर्काका लागि माफी माग्दै सहमति गरेका हुन् । ‘इमानदारीपूर्वक कर्तव्य पालना गर्दागर्दै हुन गएको घटनाको बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिहरूमार्फत विषयान्तर भएको’ भन्दै दुवै पक्षले उपरान्त द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्ने सम्झौता गरेका छन् ।

‘ललितपुर जिल्ला अदालतमा सिसिटिभीले काम नगरेको भनी यसअघि मर्मतका लागि सम्मानित सर्वोच्च अदालतमा पत्राचार भएकोमा हालसम्म मर्मत नभएकाले अविलम्ब मर्मत गरी सञ्चालन योग्य बनाउन अनुरोध गर्दछौँ,’ सातबुँदे सहमतिको तेस्रो बुँदमा छ । सहमतिपत्रमा थप लेखिएको छ, ‘उक्त घटनाको विषयलाई लिएर नेपाल बार एसोसिएसन तथा निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रमलाई आजैबाट स्थगित गरी सेवालाई सुचारु गर्ने । यस घटना र परिस्थितिबाट न्यायका सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ ।’

अब उपरान्त बार र अदालत प्रशासनबीच सुमधुर सम्बन्ध राखी निरन्तरता दिने तथा यस विषयलाई लिएर सार्वजनिक रूपमा सामजिक सञ्जाललगायत माध्यमबाट विषयान्तर हुने गरी टीकाटिप्पणी नगर्न दुवै पक्षले अनुरोध गरेका छन् । बारका केन्द्रीय सदस्य रूपबहादुर सारूको रोहवरमा तथा ललितपुर बारका तीन अधिवक्ता र जिल्ला अदालत ललितपुरका तर्फबाट पाँच शाखा अधिकृतको वार्ता समितिले घटनामा जोडिएका दुवैजनालाई राखी छलफलपछि सहमतिको निर्णय गरेको हो । 

देशभर एक साता कामकाज ठप्प
गत शुक्रबार भएको यस घटनाका कारण झन्डै एक साता ललितपुर जिल्ला अदालतका साथै देशभरका अदालतका कामकाज प्रभावित बनेका थिए । आइतबार बिहान साढे १० देखि दिउँसो १ बजेसम्म देशभरका अदालतका कर्मचारीले कामकाज ठप्प बनाई विरोध जनाएका थिए भने भोलिपल्ट कानुन व्यवसायीहरूले लामिछानेलाई झुटा मुद्दामा फसाइएको भन्दै सबै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेकका मुद्दामा बहस गरेका थिएनन् । जसबाट अन्य मुद्दाहरूमा सुनुवाइ हुन सकेन । 

सोही दिन ललितपुर अदालतअगाडि कानुन व्यवसायीहरूले कार्यक्रम गरेका थिए । जसबाट आफूहरूमा त्रास उत्पन्न भएको भन्दै मंगलबार सबै कर्मचारी सर्वोच्च अदालत पुगेका थिए । उक्त दिन पुनः अदालतका काम अवरुद्ध बनेको थियो । बिहीबार भने दुवै पक्षबीच सहमति भएको हो । 

सुझावित समाचार