पर्फर्मेन्स आर्टमा शरीरलाई एउटा माध्यमका रूपमा प्रयोग गरेर हामीले आफ्नो भावनाहरू अभिव्यक्त गरिरहेका हुन्छौँ । शरीरको हाउभाउका आधारमा त्यसलाई देखाइन्छ । आर्टका अन्य विधा नृत्य तथा नाटकमा पर्याप्त रिहर्सल गरिएको हुन्छ ।
तर, पर्फर्मेन्स आर्टमा आफूले भन्न चाहेको कुराबारे कलाकार मानसिक रूपले तयार भए पनि कुनै रिहर्सल गरिएको हुँदैन । सोझै पर्फर्मेन्स गरिने भएकाले पनि यो विधाले धेरैलाई छुन्छ । कन्टेम्पोररी डान्स तथा थिएटरमा पनि यसको इन्ट्रोभाइब्रेसन प्रयोग हुने गर्छ ।
मानिसक रूपमा यो निकै फाइदाजनक छ । किनकि, पफर्मेन्स आर्ट गर्दाको समयमा कलाकारहरू ‘मेडिटेटिभ स्टेज’ अर्थात् गहिरो ध्यानमा हुन्छन् । यसलाई एउटा आर्ट थेरापीका रूपमा पनि लिन सकिन्छ । किनकि हामीले धेरै मानिससँग भेटिरहेका हुन्छौँ र विभिन्न जानकारी हाम्रो मस्तिष्कमा घुमिरहेका हुन्छन् ।
त्यसले उत्पन्न गर्ने एकखाले स्ट्रेसलाई आफ्ना हाउभाउमार्फत शरीरको माध्यमबाट रिलिज गर्न पर्फर्मेन्स आर्टस् प्रभावकारी छ । आफ्नो कल्पना र सिर्जना शक्तिलाई बाहिर देखाउन पाउँदा मन–मस्तिष्क हल्का हुने गर्छ ।
पर्फर्मेन्स आर्टस्का धेरै विधा छन् । सांस्कृतिक, राजनीतिक, सामाजिकलगायत विधामा पर्याप्त अध्ययन र रिसर्च चाहिन्छ । यस्ता विधाले पावरफुल न्यारेटिभमार्फत सोसल म्यासेज दिने गरेका छन् । पर्फर्मेन्स आर्टिस्टहरूले समाजलाई नजिकबाट नियालेका हुन्छन् । जटिलभन्दा जटिल कुरा सरल ढंगले प्रस्तुत गर्न सक्नु पर्फर्मेन्स आर्टको विशेषता हो ।