पाल्पाको रिब्दिकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ। गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रु. पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो।

आगामी आर्थिक वर्ष ०८०/८१ देखि लागू हुने गरी वडामा दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रु. पाँच हजार प्रोत्साहनस्वरूप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

‘गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने खेतीयोग्य जमिन बाझिँदै गएका छन्,’ उनले भने, ‘गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने, आयस्रोत लिने तथा गाउँ बस्तीविहीन अवस्थामा नपुगोस् भनेर प्रोत्साहनस्वरूप भत्ता दिने नीति ल्याएका छौँ।’ 

‘गाउँमा जनसंख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन्। कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ। खेतबारी बाँझिएका छन्। गाउँमा जनसंख्या सन्तुलित बनाउँदै काम गर्ने जनशक्तिलाई गाउँमै टिकाइराख्नका लागि ‘दुईभन्दा बढी सन्तान जन्माउनेलाई रु. पाँच हजार भत्ता’को नीति ल्याइएको हो,’ वडा कार्यालयले उल्लेख गरेको छ।

‘शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रमा राज्यले लगानी गरिदियो भने गाउँमा बसेका नागरिकले खेतीयोग्य जमिनमा खेती गरेर जीविकोपार्जन गर्न सक्छन्। पठनपाठन, स्वास्थ्योपचारमा राज्यले लगानी गरिदियो भने गाउँको जनशक्ति बाहिर जाने स्थिति आउँदैन,’ वडाध्यक्ष पोखरेलले भने। 

वडाले ल्याएको उक्त कार्यक्रम गाउँसभामा पारित भएको छ। उनका अनुसार दुईभन्दा माथि जति सन्तान जन्माए पनि जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ।

यस वडामा ०७८ को जनंख्याअनुसार ६ सय १५ घरधुरी रहेको छ भने करिब दुई हजार जनसंख्या बसोवास गर्छन्। ०६८ को जनगणनाअनुसार वडामा दुई हजार तीन सय ३४ जनसंख्याको बसोवास रहेको वडा कार्यालयले जनाएको छ।

पालिकाभरिमा ०७८ को जनगणनाअनुसार १५ हजार जनसंख्या थियो भने  ०६८ मा १८ हजार जनसंख्याको बसोवास रहेको थियो। एक दशकको अवधिमा तीन हजार जनसंख्या घटेका पालिकाले जनाएको छ।

गाउँबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायत कारणले सहर जाने क्रम बढेकोले पनि गाउँमा बसोवास गर्नेको संख्यामा कमी आएको स्थानीय बताउँछन्। गाउँमा ज्येष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। 

आव ०८०/८१ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्यमा राज्यको लगानी हुनुपर्नेमा जोड दिँदै गाउँमै बसेर अध्ययन गर्ने, विभिन्न पेसा, व्यवसाय तथा उद्यम गर्नेलगायत कुरा समेटिएकाले स्थानीयमा थप आकर्षण बढ्ने वडाको अपेक्षा छ। रासस 

सुझावित समाचार