महोत्तरीको रामगोपालपुरमा सामान्य विवादमा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्।
रामगोपालपुर नगरपालिका– १ बसबिट्टी बजारनिवासी ४४ वर्षीय श्रवण यादवलाई सोही वडाको लक्ष्मीपुर टोलनिवासी ३८ वर्षीय कौशल मण्डलले गोली हानेका हुन्।
कौशलले चलाएको तीन राउन्ड गोलीमध्ये दुई गोली यादवलाई लागेको छ। उनलाई तत्काल रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक हस्पिटलमा उपचारका लागि लगिएको थियो। थप उपचारका लागि उनलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको छ।
यता गोली चलाउने मण्डललाई ह्यान्डमेड सानो पेस्तोल र तीन थान खोकासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए।
यादवको दाहिने कन्चटमा पहिलो गोली लागेको र कन्चटबाट बायाँतर्फको गालाको पछाडिबाट गोली निस्केको अस्पतालले जनाएको छ। त्यस्तै, दोस्रो गोली उनको दाहिने कुममा लागेको छ। शरीरभित्रै रहेको गोली निकाल्ने प्रयास भइरहेको छ।
गोली प्रहारबाट घाइते भएका यादवको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पताल प्रशासनले जनाएको छ। बसबिट्टी बजारमा यादव र मण्डलबीच सामान्य कुराकानीमा विवाद भएको थियो। विवादपछि मण्डल घर गएका थिए। केही समयपछि उनी घरबाट पेस्तोल ल्याएर यादवमाथि प्रहार गरेको स्थानीयले बताए।