पोहोरभन्दा ०.५२ प्रतिशत बढी राजस्व उठ्ने अर्थमन्त्रीको दाबी

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा गत वर्षभन्दा ०.५२ प्रतिशत बढी राजस्व उठ्ने दाबी गरेका छन् । संसद्को अर्थ समितिको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । गत आर्थिक वर्षमा सरकारले १० खर्ब ६७ अर्ब राजस्व उठाएको थियो । अर्थमन्त्रीका अनुसार यो वर्ष कुल राजस्व १० खर्ब ७२ अर्ब पुग्नेछआर्थिक वर्ष सकिन ११ दिन बाँकी रहँदा हालसम्म आठ खर्ब ६५ अर्ब राजस्व संकलन भएको छ । बाँकी दिनमा सरकारले दुई खर्बभन्दा बढी राजस्व उठाउनुपर्ने हुन्छ । तर, आयामा खासै वृद्धि नभएको तथा आर्थिक गतिविधिसमेत चलायमान हुन नसकेको अवस्थामा राजस्व संकलन वृद्धि हुनेमा सांसदहरू आश्वस्त हुन सकेनन् । 

‘राजस्व उठ्ने विषयमा समस्याहरू देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ, प्रगति भएको छ । हामीले गत वर्षभन्दा ० दशमलव ५२ प्रतिशत बढी उठाउन सक्छौँ,’ मन्त्री डा. महतले भने । उनले अर्थतन्त्र चलायमान नहुनुमा राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिलाई कारण देखाए । उनले कसिलो नीतिकै कारण आवश्यक मुद्रा प्रवाह नहुँदा ब्याजदर वृद्धि भएको र निजी क्षेत्रबाट लगानी नभएको बताए । 
‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलव ८८ प्रतिशत बढी उठेको छ,’ उनले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरूलाई करको दायरामा ल्याएका छौँ । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौँ ।’ अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’मन्त्री महतले भने, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ । यो कालखण्डमा हामीले राजनीतिक आरोहअवरोहबाट गुज्रिनुपरेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौँ ।’

आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरू देखिन थालेको मन्त्री डा. महतले बताए । उनले भने, ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौँ, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौँ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले चालू आर्थिक वर्षको राजस्व संकलन लक्ष्य आधारहीन रहेको बताए । योजना आयोगको उपाध्यक्षसमेत रहिसकेका उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको बताए ।

असार १८ गतेसम्म राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले नौ खर्ब उठेको भन्दै गलत तथ्यांक दिएको उनले बताए । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने उनको भनाइ छ ।

उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि चार अर्ब ८० करोड मात्रै उठेको बताए । उनले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा पाँच अर्ब उठ्न सक्ने दाबी गरे । कांग्रेस सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डरलाग्दो रहेको बताए । ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । 

१७ असारसम्म नौ खर्बको हाराहारीमा मात्रै उठ्नु र हाम्रो साधारण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ,’ उनले भने । सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भए पनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको बुझाइ छ । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गरे ।

सुझावित समाचार