नेपाली सांगीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ। तामाङको मंगलबार ६० वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन् ।
प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मंगलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउमा मृत भेटिएको चन्दले बताए ।
मृत्युको कारण शव परीक्षणपश्चात् मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाइ’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भूलमा भुल्यो’ लगायत गीत चर्चित छन् ।