भारत नवौँपटक साफ च्याम्पियन

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

कुवेतलाई सडन डेथमा पराजित गर्दै भारतले साफ च्याम्पियनसिपको उपाधि नवौँपटक उचालेको छ । डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा पनि गरेको हो । 

मंगलबार राति भएको फाइनल खेलमा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि च्याम्पियन छान्न टाइब्रेकरको सहारा लिनु परेको थियो । 

टाइब्रेकरका सुरुका ५–५ प्रहारमा दुवै टोलीले ४–४ गोल गरेपछि सडनडेथमा गएको थियो । छैटौँ प्रहारमा भारतले गोल गर्यो भने कुवेतका कप्तान खालेद हजिआले गरेको प्रहार भारतीय गोलरक्षकले रोके । त्यसलगत्तै २६ हजारभन्दा बढी दर्शक उपस्थित रंगशाला उत्सवमा परिणत भयो । 

त्यसअघि खेलको १४ औँ मिनेटमा कुवेतले अग्रता लिएको थियो । ३७औँ मिनेटमा भारतले खेल बराबरीमा ल्याएको थियो ।

साफ च्याम्पियनसिपका हालसम्म भएका १४ संस्करणमध्ये भारत १३ वटामा फाइनल पुगेको छ भने ९ वटामा विजेता बनेको छ । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९,२०११, २०१५ र २०२१ मा साफको उपाधि उचालेको छ । 
 
यसपटक कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रुपमा सहभागी गराइएको थियो । भारतले सेमिफाइनलमा लेबनानलाई पनि टाइब्रेकरमा हराएको थियो । 

सुझावित समाचार