मेनुकाको ‘गुराँस’ दी कार्लोभी भारी फिल्म फेस्टिभलमा प्रिमियर हुने

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा रहेको फिल्म ‘गुराँस’ दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ।

चेक रिपब्लिकमा हुन गइरहको फेस्टिभलमा यो चलचित्र जुलाई ५ मा वर्ल्ड प्रिमियर हुने भएको हो। अभिनेत्री प्रधान फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन्।

मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो। उनले फेस्टिभलमा फिल्मको ‘युनिभर्स’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको प्रतिक्रिया दिइन्। ‘मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो। म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रूपमा अनुभव गर्दै छु। मलाई त्यहाँ गएर अरूभन्दा पनि धेरैभन्दा धेरै फिल्म हेर्न मन छ,’ उनले भनिन्।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन्। फेस्टिभलमा  निर्देशक राई पनि सहभागी हुनेछन्। ‘दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’ युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ।

चलचित्रलाई राई स्वयंले लेखेका हुन्। उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन्। 
फिल्ममा तुलसी खवासले ‘गुराँस’को रूपमा शीर्ष भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ।

फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ। फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकितापुर कायस्थले गरेका हुन्। 

सुझावित समाचार