गुल्सन र सन्दीपले उकासे इनिङ, आयरल्यान्डलाई २६९ रनको लक्ष्य

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनकाे लक्ष्य दिएको छ। 

जिम्बावेको हरारेमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ६८ रन बनायो। आयरल्यान्डसामु ‘फाइटिङ टोटल’ राख्ने क्रममा गुल्सन झाले सबैभन्दा बढी ५७ रनको योगदान दिए। 

४२ बल सामना गरेका गुल्सनले तीन छक्का र चार चौका प्रहार गरे। यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान दिए। 

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ८, ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्रसिंह ऐरी शून्य र किरण केसीले चार रन बनाए। किशोर महतो एक रनमा अविजित रहे। 

नेपालले ३७।२ ओभरभित्र एक सय ६९ रनमा सात विकेट गुमाइसकेको थियो। यस्तोमा गुल्सन र सन्दीपले ८० रनको साझेदारी गर्दै नेपाललाई फाइटिङ टोटलसम्म पुर्याए। त्यसअघि अर्जुन र रोहितबीच ५० रनको महत्वपूर्ण साझेदारी बनेको थियो।

सुझावित समाचार