सरकार फेरबदलका क्रियाकलापमा छैनौँ : लामिछाने

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार फेरबदलको खेलमा नरहेको बताएका छन्। धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार फेरबदलमा अहिले आफूहरुको रुची नरहेको जिकिर गरे।

‘सरकार बनाउने–ढाल्ने, कुनै पनि क्रियाकलापमा हामी कहीँ पनि सहभागी छैनौँ । हामीलाई त्यसमा रुची पनि छैन,’ लामिछानेले भने, ‘पार्टी संगठन विस्तारको काममा छौँ। त्यसका लागि ठाउँठाउँमा पुग्नुपर्ने छ । हामी त्यसमा नै बढी केन्द्रित छौँ ।’ आफूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको उल्लेख गर्दै उनले सरकार जनताप्रति उत्तरदायी नभए कुनै न कुनै निर्णय लिने बताए।

जनतालाई राहत पुग्ने गरी सरकारले कुनै न कुनै ढङ्गले निर्णय गर्नुपर्ने उनको भनाइ थियो । सभापति लामिछानेले मुलुकमा आर्थिक मन्दीको प्रभाव विभिन्न क्षेत्रमा देखिए पनि सरकारले त्यसलाई सम्बोधन गर्न नसकेको धारणा राखे । सरकारले घोषणा नगरे पनि मुलुक आर्थिक मन्दीको अवस्थामा रहेको सूचकहरुले देखाइसकेको उनले बताए । आर्थिक मन्दीका बेला सामान्य अवस्था छ भनेजसरी बजेट ल्याइएको भन्दै उनले सरकारको आलोचना गरे । सरकारले संशोधन गरेको राजस्व अनुमानसमेत संकलन नहुने अवस्था रहेको लामिछानेको दाबी छ।

अर्को प्रसङ्गमा उनले २०८४ को चुनावी लक्ष्यसहित आफ्नो पार्टी अगाडि बढेको बताए । ‘२०८४ को लक्ष्यसहित अगाडि बढेका छौँ । नागरिकका मुद्दामा दह्रो गरी उभिन सक्यो भने २०८४ को दृश्य असाध्यै राम्रो हुनेछ,’ उनले भने । लामिछानेले सुदूरपश्चिममा पार्टी संगठन विस्तारलाई दु्रत गतिमा अगाडि बढाउन लागिएको जानकारी दिए।

सुझावित समाचार