प्रचार विभागको निर्णयमा कांग्रेसभित्रै असन्तुष्टि
नीति र नेतृत्वको विषयमा सार्वजनिक अभिव्यक्ति रोक्ने कांग्रेस प्रचार विभागको निर्णय विवादमा परेको छ । सोमबार प्रचार विभागको पहिलो बैठकले नीति र नेतृत्वको विरोधमा सार्वजनिक अभिव्यक्ति नदिन केन्द्रदेखि तल्लो तहसम्म अनुरोध गर्ने भन्दै गरेको निर्णयलाई लिएर कांग्रेसमा असन्तुष्टि देखिएको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्मा संयोजकत्वको समितिको यो निर्णयलाई लिएर इतर समूह र रूपान्तरण अभियानमा जोडिएका युवा नेताहरू रुष्ट बनेका छन् । ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमै विरोध गर्ने अभिव्यक्ति नदिन पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरूलाई अनुरोध गर्ने,’ बैठकको निर्णयमा भनिएको छ । संयोजक विश्वकर्माले पार्टीका असन्तुष्टिलाई व्यवस्थित रूपमा पार्टीमा छलफल गर्न अनुरोध गरिएको बताए । यसलाई गलत रूपमा बुझ्न नहुने उनको जिकिर छ ।
सभापति शेरबहादुर देउवानिकट मानिने विश्वकर्मा संयोजक रहेको विभागको यो निर्णयलाई भने इतर समूहले शंकाको नजरले हेरेको छ । इतर समूहका नेता तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य पार्टीमा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्न खोजिएको भन्दै आपत्ति जनाए । यसले जीवन्त पार्टीमा यस्तो निर्णय कार्यान्वयन हुन नसक्ने बताए ।
रूपान्तरण अभियानअन्तर्गत नेताहरूले दोस्रो अभियानको तयारी गरिरहेका छन् । यसै समयमा प्रचार विभागले यस्तो निर्णय लिएपछि नेताहरू असन्तुष्ट देखिएका हुन् । आचार्यका अनुसार अभियानले पहिलो चरणको समीक्षासहित दोस्रो चरणको कार्यक्रमका लागि बौद्धिक समुदायसँग अन्तरक्रिया गरिरहेको छ । पूर्वकेन्द्रीय सदस्य तथा रूपान्तरण अभियानमा सक्रिय नेता गुरुराज घिमिरेले आफूलाई चित्त नबुझेको विषयमा टिप्पणी गर्न पाउनु कांग्रेसको मौलिक चरित्र नै भएको बताए । विभागले सीमा नाघेर यसबारे निर्णय गरेको उनको टिप्पणी छ । ‘प्रचार विभागले पार्टीका नीति सिद्धान्त र कार्यक्रमको प्रचार गर्ने हो, उर्दी जारी गर्ने हो । आफूलाई चित्त नबुझेका विषयमा टिप्पणी गर्न पाउनु लोकतान्त्रिक पार्टीको मौलिक चरित्र हो । पार्टीका सिद्धान्त र आदर्शविपरीत गयो भने त्यो गलत हो । त्यसमा चित्त बुझेन भने कोही पनि पार्टीमा बन्धक हुँदैन, विवेकले आफ्नो कुरा राख्न सक्छन् । कसैले अंकुश लगाउन आवश्यक छैन । सबै सीमाभित्र बस्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

विभागले कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको सन्देश तल्लो तहसम्म पुर्याउन पहल गर्ने निर्णयसमेत गरेको छ । विभागले दैनिक गतिविधि सञ्चालनका लागि पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागका सदस्यको विशिष्ट क्षमताका आधारमा कार्यविभाजन गर्न विभागका सदस्यहरूको व्यक्तिगत विवरण संकलन गर्ने निर्णयसमेत गरेको छ । यसका लािग दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति र गोपालकुमार झाको संयोजकत्वमा कार्ययोजना तर्जुमा समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन तयार गर्ने समय दिइएको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा ३५ सदस्यले धारणा राखेका थिए ।
कांग्रेसले आफ्नो नाममा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने भएको छ । बैठकले आधिकारिक एकाउन्टलाई मात्रै सञ्चालनमा ल्याउने र अनधिकृत एकाउन्टलाई कानुनी दायरामा ल्याउने तयारी अगाडि बढाएको हो । विश्वकर्माका अनुसार कांग्रसको नाम, झन्डा र चुनाव चिह्न राखी खोलिएका एकाउन्टलाई सम्पर्क गर्न एक महिनाको समय दिइएको छ । सम्पर्कमा नआउने एकाउन्टका सन्दर्भमा कानुनी बाटो खोजिन लागिएको उनले जानकारी दिए ।
विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नुपर्छ : महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक दलको भागबन्डाले शैक्षिक क्षेत्र धराशयी बन्दै गएको बताए ।
थापाले राजनीतिक आस्था बोकेर विश्वविद्यालय छिर्न नपाइने कुरा स्थापित गर्नुपर्ने जिकिर गरे । ‘हामीले यति धेरै भागबन्डा गर्यौँ कि आजभोलि सहायक क्याम्पस चिफसमेत भागबन्डा गर्छौं । कन्ट्रोलर, उपकुलपति, शिक्षाध्यक्ष विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हुन्छ,’ उनले भने, ‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ । हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थी राजनीतिक रूपमा सचेत छन्, त्यहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ । तर, दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन ।’