ललितानिवास जग्गा प्रकरण : थप दुई अभियुक्त पक्राउ

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

घटनामा संलग्नविरुद्ध प्रहरीले सरकारी छाप किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा लगाउने तयारी गरिरहेको छ

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो । गृह मन्त्रालयमातहतको समरजंग कम्पनीको नाममा ललितानिवासको धेरै जग्गा ल्याइएको थियो र सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । 

सिआइबीले आइतबार पनि काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो । भट्टराई हाल काठमाडौं महानगरमातहत सहकारी विभागमा कार्यरत छन् । उनी छैटौँ तहका कर्मचारी हुन् । 

त्यस्तै, सिआइबीले केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पनि पक्राउ गरेको थियो । जसमध्ये गुरुङ, शाह, गौतम र कार्कीलाई सिआइबीको हिरासत कक्षमा राखिएको छ । उनीहरूविरुद्ध सिआइबीले मंगलबार थप अनुसन्धानका लागि म्याद थप गर्नेछ । 

तर, अदालतबाट पहिले नै ‘स्टे अर्डर’ जारी भएका केसी, देउजा र कपालीलाई भने हाजिर जमानीमा छाडिएको छ । उनीहरूसँगै ‘स्टे अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका उपसचिव लक्ष्मीनारायण उप्रेती, अधिकृत दिनेशप्रसाद शर्मा, धर्मप्रसाद गौतम, टीकाराम घिमिरे, मोहम्मद साविर हुसैन हुन् । सिआइबीले केसी, देउजा र कपालीलाई हाजिर जमानीमा छाडेपछि उनीहरू पनि ढुक्क भएर बसेका छन् ।

त्यस्तै, अदालतबाट ‘स्टे अर्डर’ लिने भवन निर्माण सम्भार डिभिजन कार्यालयका इन्जिनियर बालकृष्ण श्रेष्ठ, गुठी संस्थान प्रधान कार्यालयका सह–प्रशासक हेमराज सुवेदी, उपप्रशासक हिरबोल आचार्य र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव तेजराज पाण्डे पनि सम्पर्कमै छन् । घटनामा संलग्नविरुद्ध प्रहरीले सरकारी छाप किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा लगाउने तयारी गरिरहेको छ ।

सुझावित समाचार