सत्तारुढ दलका शीर्ष नेताले सरकारमा सहभागिताको विषयमा असन्तुष्ट रहँदै आएको जनमत पार्टीलाई सरकारमा समेट्ने सहमति गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारीनिवास बालुवाटारमा आज बसेको सत्तागठबन्धनको बैठकले जनमत पार्टीलाई सरकारमा समेट्ने सहमति गरेको हो।
जनमतलाई सरकारमा सहभागी गराउँदा कुन मन्त्रालय दिने भन्नेबारे प्रधानमन्त्रीले निर्णय लिने सहमति भएको गठबन्धन दल एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
‘जनमत पार्टी सरकारमा आउँछ भने ल्याउने योजना बनेको छ। उसलाई कुन मन्त्रालय दिने भन्नेबारे प्रधानमन्त्रीले टुंगो लगाउनुहुनेछ,’ पाण्डेले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जनमतका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। वर्तमान सरकारलाई समर्थन जनाए पनि मन्त्रालयको विषयमा जनमत सन्तुष्ट हुन सकेको छैन। उसले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ।