ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरमा सोमबार विरोध प्रदर्शन गरेका छन्। जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट भएको घटनापछि अदालत कर्मचारी र बार दुवै आन्दोलित भएका छन्। 

यसअघि आइतबार सर्वोच्च अदालतसहितका केही अदालतमा कर्मचारीले आन्दोलनस्वरूप खाजा समयअघिसम्म कामकाज ठप्प पारेका थिए।

असार १३ गते जिल्ला अदालत ललितपुरमा काम गरिरहेको अवस्थामा अधिवक्ता अमिर लामिछानेले आफूमाथि कुटपिट गरेको अदालतकी नासु तामाङको आरोप छ। विचाराधीन एक मुद्दाका वारेससमेत रहेका लामिछानेले मुद्दाको मिसिल तानेर आफैँले हेर्न थालेपछि नासु तामाङले कागजात हराउने भन्दै त्यसो गर्न रोकेपछि लामिछानेले गालीगलौज गर्नुका साथै कुटपिट गरेको दाबी छ।

तर, अधिवक्ता लामिछानेसँग नासु तामाङले घुस मागेपछि नदिएको र भनाभन हुँदा तामाङले नै हात उठाएको कानुन व्यवसायीको आरोप छ।

विरोध प्रदर्शनका क्रममा बोल्दै कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको झुटा मुद्दा अविलम्व खारेज हुनुपर्ने माग राखे। उनले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरूको तत्काल सरुवा हुनुपर्ने बताए।

अर्का कानुन व्यवसायी सीताराम केसीले अधिवक्ता लामिछानेलाई एउटा मुद्दामा फसाइएको दाबी गर्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीमाथि लागेको मुद्दा रहेको बताए। उनले सिसिटिभी फुटेज कसरी छैन भन्ने बारेमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने माग राखे।

सुझावित समाचार