नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने कुरा स्थापित गर्नुपर्ने बताएका छन्।
सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने धारणा राखे। दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने थापाले प्रस्ट पारे।
‘हामीले यति धेरै भागबन्डा गर्यौँ कि हामी आजभोलि सहायक क्याम्पस चिफसमेत भागबन्डा गर्छौं। कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हुन्छ। उपकुलपति, शिक्षाध्यक्ष अहिले विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हो। राजनीतिक दलको भागमा पर्दैपर्दै जाँदै गर्दा विश्वविद्यालयलाई हामीले झनै तल लिएर गयौँ। सेवा आयोगले लिएका परीक्षाका सन्दर्भमा समेत प्रश्न उठेका छन्,’ उनले भने।
महामन्त्री थापाले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको कदमको आफूहरूको शतप्रतिशत साथ रहेको उल्लेख गर्दैै विश्वविद्यालयलाई राजनीतिबाट अलग गर्ने निर्णय लिन जोड दिए।
‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ। हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिक रूपमा सचेत छन्, त्यहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ। तर, दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन,’ उनले भने।